रत्ननगरकी सुकमायाको हत्यामा संलग्न ५ जना पक्राउ, मुख्य योजनाकार भोलान


काठमाडौं, १५ माघ । जिल्ला प्रहरी कार्यालय चितवनले रत्ननगर नगरपालिका–४ निवासी ६३ वर्षीया सुकमाया देवी तामाङको हत्याका आरोपी पक्राउ गरी सार्वजनिक गरेको छ । तामाङको गत पुस २६ गते आफ्नै घरमा हातखुट्टा र मुखमा कपडाले बाँधी हत्या गरिएको थियो ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पक्राउपर्नेमा बारा, जीतपुर सिमारा उपमहानगरपालिका–२२ घर भई रत्ननगर नगरपालिका–१० बस्ने ४६ वर्षीय मोटे र विजय भनिने शुक्रबहादुर भोलन, सोही ठाउँमा घर भई हाल ललितपुर महानगरपालिका–१० च्यासल बस्ने ४२ वर्षीय सूर्यमान वाइबा, धादिङ थाक्रे गाउँपालिका–५ का ३२ वर्षीय बुद्धिमान लामा छन् ।

यस्तै, स्याङ्जा बिरुवा गाउँपालिका–८ पेल्का स्थायी घर भई हाल रत्ननगर नगरपालिका–४ बस्ने ३१ वर्षीय कौबहादुर गुरुङ र मकवानपुर थाहा नगरपालिका–१२ घर भई हाल काठमाडौँ थानकोट बस्ने ४७ वर्षीय हिराबहादुर स्याङ्तान रहेका छन् ।

उनीहरुलाई रत्ननगर नगरपालिका, नवलपरासी (बर्दघाट, सुस्तापूर्व), इच्छाकामना गाउँपालिकाको फिस्लिङ र थानकोटबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले केही समय अघि तामाङको घरमा भाडामा बस्दै आएका भोलानसहितको योजनामा हत्या गरिएको बताए ।

पक्राउ परेकाहरुको साथबाट ना २५ प ६९६५ नम्बरको पल्सर मोटरसाइकल, बागमती प्रदेश ०१–००२ ज ७९८५ नम्बरको ट्याक्सी, मृतकको मोबाइल, पर्स र सात थान मोबाइल बरामद् गरिएको छ । तामाङको घरबाट दुई तोला ५० लालको सुनको सिक्रीसहितको काँडावाला माडवरी एक थान, एक तोला २५ लालाको सुनको बाला, ५० लालको सुनको औँठी, एक तोलाको सुनको जन्तर, मोती माला, मोबाइल दुई थान र रु एक लाख गरी रु १५ लाख ३६ हजार ७०० बराबरको नगद लुटपाट गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

पक्राउ परेका सबैलाई कर्तव्य ज्यान र चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको पुरीले जानकारी दिए । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष भट्ट नेतृत्वको अनुसन्धान टोलीले दुई साता लगाएर अनुसन्धान गरी दोषी पहिचान गरेर निजहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।