वासिङ्टन, १६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहान फेडरल रिजर्भका अध्यक्षका लागि आफ्नो उम्मेद्वारको घोषणा गर्ने बताएका छन् । लामो समयदेखि प्रतीक्षा गरिएको यो निर्णयले अमेरिकी केन्द्रीय बैंकले ह्वाइट हाउस र चुनावी राजनीतिबाट कति स्वतन्त्र रहन सक्छ भन्ने कुरा स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
गत वर्षभरि राष्ट्रपति ट्रम्पले वर्तमान फेड अध्यक्ष जेरोम पावेलको आलोचना गर्दै आएका थिए। पावेलको कार्यकाल मे महिनामा समाप्त हुँदैछ । ट्रम्पले द्रुत आर्थिक वृद्धिका लागि ब्याज दरहरू अझ तीव्र रूपमा घटाउनुपर्ने धारणा राखेका छन्, तर पावेलले ट्रम्प प्रशासनका कर नीतिका कारण बढ्न सक्ने मुद्रास्फीतिलाई ध्यानमा राख्दै सावधानीपूर्ण दृष्टिकोण अपनाएका छन्।
बिहीबार राति आफ्नी पत्नीबारे बनेको वृत्तचित्रको प्रदर्शनमा जाँदै गर्दा ट्रम्पले आफूले शुक्रबार बिहान फेड अध्यक्षको घोषणा गर्ने जानकारी दिएका थिए । उनले छनोट हुने व्यक्ति आर्थिक क्षेत्रमा व्यापक सम्मान पाएको र सबैले चिनेको व्यक्तित्व हुने विश्वास व्यक्त गरेका छन् ।
ट्रम्पले उम्मेदवारबारे धेरै खुलासा नगरेको भए पनि खोज प्रक्रियाको नेतृत्व अर्थमन्त्री स्कट बेसेन्टले गरेको बताइएको छ । अन्तिम चरणमा केभिन वार्श, क्रिस्टोफर वालर, रिक रिडर र केभिन ह्यासेटको नाम चर्चामा रहेको छ । ट्रम्पले हालै दिएको अभिव्यक्तिले वार्शतर्फ झुकाव देखिएको अड्कल गरिएको छ ।
यसैबीच, फेडको मुख्यालय नवीकरण लागतलाई लिएर ट्रम्प र केन्द्रीय बैंकबीच तनाव बढ्दै गएको छ । सोही सन्दर्भमा फेडले न्याय विभागबाट कानुनी सूचना प्राप्त गरेको थियो । पावेलले भिडियो सन्देशमार्फत ब्याज दर निर्धारण राजनीतिक दबाबभन्दा जनताको हितका आधारमा गरिएको स्पष्ट पारेका थिए ।
ट्रम्पले आफ्नो मनोनीतले ब्याज दर घटाउने अपेक्षा व्यक्त गर्दै आएका छन्, जसले अर्थतन्त्र, मुद्रास्फीति र रोजगारीमा प्रत्यक्ष प्रभाव पार्नेछ । पावेल अध्यक्ष पदबाट हटे पनि फेडको बोर्ड अफ गभर्नरमा सन् २०२८ सम्म रहन सक्ने भएकाले ट्रम्पको बोर्डमा पूर्ण नियन्त्रण कायम गर्ने योजनामा केही प्रक्रियागत चुनौती आउन सक्ने विश्लेषकहरूको भनाइ छ ।
पावेलले हाल बोर्ड छोड्ने वा नछोड्नेबारे निर्णय सार्वजनिक नगरे पनि उत्तराधिकारीलाई राजनीतिक प्रभावबाट टाढा रही काङ्ग्रेसमार्फत जवाफदेही रहने सन्तुलन कायम गर्नुपर्ने सुझाव दिएका छन् । रासस




प्रतिक्रिया