काठमाडौं, १६ माघ । नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता, पूर्वमन्त्री तथा दाङ–१ का उम्मेदवार मेटमणि चौधरीले तोकिएको निर्वाचन रोक्ने र संसद् पुनःस्थापना गर्ने कुरा बेठिक रहेको टिप्पणी गरेका छन् । जनता र राजनीतिक दलहरु पनि निर्वाचनमा होमिईसकेको अवस्था रहेको उल्लेख गर्दै तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएका हुन् ।
आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा संसद् पूनःस्थापना गरिए समाजमा फेरि विस्फोट हुनसक्ने खतरा औंल्याए । देशलाई भ्याकुममा नपार्न र शक्ति राष्ट्रहरुलाई खेल्न नदिनको लागि पनि तोकिएकै मितिमा निर्वाचन सफल बनाउनुपर्ने चौधरीको धारणा छ ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सधैं व्यक्तिगत स्वार्थमा हिँड्ने नेताको संज्ञा दिए । उनले ओलीले झापा–५ मा निर्वाचन हार्ने निश्चित् भएपछि अहिले अनेकखालको बहाना गरिरहेको आरोप लगाए । उनले भने,‘केपी ओली त व्यक्तिगत स्वार्थी न हुन्, आफ्नो पार्टी ग्राउण्डमा पुग्दा शून्यमा झर्न थालेपछि, स्वयम आफू झापा–५ मा निर्वाचन हार्ने अवस्थामा पुगेपछि यिनले अनेकखालका बहानाहरु गरिरहेका छन् ।’ उनले केपी ओलीप्रति जनताको ठूलो आक्रोश रहेको बताए । ओली हिजो शक्तिमा हुँदा जिल्लाको विकास भएपनि जनता सुशासन नहुँदा आक्रोशित रहेको उनको दाबी छ ।




प्रतिक्रिया