काठमाडौंमा रास्वपा प्रतिष्पर्धामा नै छैन भन्ने विश्लेषण आईरहेको छ : एमाले महासचिव पोखरेल


काठमाडौं, १६ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेको प्रतिष्पर्धा कांग्रेससँग हुने बताए । उनले रास्वपा अहिले काठमाडौंमा नै प्रतिष्पर्धामा नभएको विश्लेषण आएको सुनाए । प्रेस चौतारी नेपालले आज (शुक्रबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यो निर्वाचनमा एमालेको मुख्य प्रतिष्पर्धा कांग्रेससँग हुने विश्लेषण सुनाए ।

सम्बोधनको क्रममा उनले भने,‘काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिस्पर्धामा नै छैन भन्ने विश्लेषण आइरहेको छ । रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा बढेको देखिन्छ, तर त्यो प्रभाव चुनाव जित्ने तहसम्मको होइन भन्ने छ । त्यसैले एमालेसँग कांग्रेस नै प्रतिस्पर्धामा छ ।’

महासचिव पोखरेलले नेपालमा जेनजी आन्दोलनपछि विदेशी कठपुतली सरकार निर्माण गरिएको भन्दै निर्वाचनपछि जेलेन्स्की जन्माउन खोजिएको दाबी गरे । उनले नेपालका छिमेकी भारत र चीनको विरुद्धमा शक्ति राष्ट्रहरुले चलखेल गर्ने अखडाका रूपमा नेपाली भूमिको प्रयोग गर्न नदिने पनि विश्वास दिलाए । file photo