प्रचण्डको दाबी : स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनाव भए नेकपा पहिलो बन्नसक्छ


काठमाडौं, १६ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निस्पक्ष र धाँधलीरहित चुनाव भए नेकपा पहिलो दल बन्ने दाबी गरेका छन् । आज कुम पूर्व–काठमाडौं सम्पर्कको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै दाहालले यस्तो दाबी गरेका हुन् ।

दाहालले भने,‘देशमा निर्वाचनको माहोलमा बन्दै गइरहेको छ। एकसरी मानिस अनेक बहानामा निर्वाचन हुँदैन भन्ने गरेको थिए। नेपाली कम्युनिस्ट पार्टी समानुपातिकमा त म भन्न सक्दिनँ नयाँ भन्नेको हावा चलेकै छ। तर प्रत्यक्षमा हामी अगाडी हुन्छौँ। प्रत्यक्ष र समानुपातिक जोड्दा हामी एक नम्बर पार्टी बन्ने सम्भावना छ।’

सो क्रममा दाहालले देशमा विकासको एउटा नयाँ मोडल दिनसक्नुपर्ने बताए । उनले आफूले तेस्रो पटक प्रधानमन्त्री हुँदा थालेको भ्रष्टाचारविरोधी अभियान अधुरै रहेको पनि बताए । त्यसलाई पूरा गर्नको लागि पनि नेकपा बलियो भएर आउनुपर्ने बताए । उनले भने,‘हामीले विकासको एउटा नयाँ मोडेल दिन सकिएन भने हाम्रो यात्रा, सहिदहरूका सपना, क्रान्तिकारीहरूका सपना अधुरै हुने खतरा छ। त्यसकारण हामी समुदायमा आधारित समाजवादको मोडेल खडा गर्नु छ।’