मुस्ताङ, १७ माघ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने (कागबेनी–कोरला) सडकको बाक्लो हिउँ पन्छ्याउन सुरु भएको छ । शुक्रबारदेखि कोरलानाका जोड्ने सडकको हिउँ पन्छ्याउन सुरु गरिएको हो ।
अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको उपकरण प्रयोग गरी मुस्ताङको छुसाङदेखि लोमान्थाङसम्म सडकको हिउँ सफा गरिएको हो ।
लोमान्थाङदेखि कोरलानाकासम्मको २५ किलोमिटर सडकको हिउँ पन्छ्याउने काम भइरहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)का सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । उनका अनुसार करिडोर सडकको उपकरणसहित सशस्त्र प्रहरी टोलीले कोरला नाका सडकको हिउँ पन्छ्याउन जुटेको जानकारी दिए ।
यसअघि मङ्गलबार राति माथिल्लो मुस्ताङमा भारी हिमपात हुँदा कागबेनी–कोरला सडकमा दुई फिटभन्दा बढी हिउँ जमेको थियो । सोही कारण जोमसोम–कोरला सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो । भारी हिमपातका कारण माथिल्लो मुस्ताङको कोरला सडक अवरुद्ध हुँदा स्थानीय नागरिक, सुरक्षाकर्मी, पर्यटक, व्यापारीहरु र निर्वाचनका लागि मतदान केन्द्र तथा मतदानस्थलको अनुगमनकार्य खटिएकाहरुलाई कठिनाइ भइरहेको छ ।
शुक्रबार कोरला सडक आयोजनाको सडक खन्ने उपकरणले मुस्ताङको छुसाङदेखि माथि कोरलानाकासम्मको सडकमा जमेको हिउँ पन्छ्याउने काम भइरहेको आयोजनाले जनाएको । यसैगरी कोरला सडक आयोजनाको सम्पूर्ण खर्च व्यवस्थापन गर्नेगरी लोमान्थाङ गाउँपालिकाको सडक खन्ने उपकरण डोजरले लोमान्थाङबाट तल सडकमा जमेको हिउँ पन्छाइएको थियो ।
हिमपातले अवरुद्ध कोरला सडकलाई जतिसक्दो छिटोछरितो रुपमा सञ्चालनमा ल्याउने गरी आयोजनाले दुई वटा डोजर एकैसाथ तल र माथि परिचालित गरी लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइसकेको र लोमान्थाङदेखि कोरलानाकासम्म सडकको हिउँ पन्छाउनु सुरु गरिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।
सडक अवरुद्धका कारण माथिल्लो मुस्ताङको जनजविन प्रभावित बनेकोमा शनिबारदेखि माथिल्लो क्षेत्रको जनजिवन सामान्यीकरण बन्दै गएको आयोजना प्रमुख शर्माको भनाइ छ । अवरुद्ध सडक सञ्चालनमा आइसकेकाले माथिल्लो मुस्ताङमा खाद्यान्न ढुवानी गर्न सहज भएको आयोजना प्रमुख शर्माले बताए ।
हिमपातले अवरुद्ध माथिल्लो मुस्ताङस्थित लोमान्थाङ सडकसम्मको सडक सञ्चालनमा आइसकेको छ । लोमान्थाङदेखि कोरला नाकासम्मको २५ किलोमिटर दूरीमा रहेको सडकको हिउँ पन्छाउने काम शनिबारदेखि सुरु गरिएको आयोजनाले जनाएको छ ।
त्यहाँ पनि आयोजनाले डोजर परिचालित गरी एक दुई दिनभित्र सडक सञ्चालनमा ल्याउने गरी काम गरेको आयोजना प्रमुख शर्माले बताए । यसअघि स्थानीय प्रशासन र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालनमा ल्याइएको थियो । रासस




प्रतिक्रिया