धनकुटा पुगेर ऋषि धमलाको उद्घोष : खबरदार ! निर्वाचन सार्ने षड्यन्त्र नहोस, जनता निर्वाचनको पक्षमा छन्


काठमाडौं, १७ माघ । रौतहट–४ का प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार ऋषि धमलाले आफूले भदौ २३ गते भएको जेनजी आन्दोलनपछि संविधान नै नरहने अवस्थामा आफूले निर्णायक भूमिका खेलेर संविधान बचाउन योगदान दिएको स्मरण गराएका छन् ।

जेनजी आन्दोलनका अगुवाहरुले नै संविधान फाल्ने भनेको बेलामा आफूले अगुवाई गरेर ती अभियन्ताहरुसँगको बहसमार्फत संविधान जोगाउन निर्णायक भूमिका खेलेको बताए । आजपाको चुनाव परिचालनसम्बन्धी कार्यक्रमलाई धनकुटामा सम्बोधन गर्दै धमलाले जेनजी आन्दोलनपछिको त्रासदीपूर्ण अवस्थामा पनि आफूले निर्णायक कदम चालेर मुलुकको लोकतन्त्र र संविधान बचाउन योगदान पर्याएको स्मरण गराए ।

उनले भने,‘मलाई आज यहाँ उभिएर जेनजी आन्दोलनपछि मुलुकमा लोकतन्त्र र संविधान नै नरहने हो कि भन्ने त्रासको अवस्था थियो, त्यस्तो बेलामा मैले जेनजी आन्दोलनका अगुवा र अभियान्ताहरुलाई कन्भिन्स गरेर संविधान बचाउनको लागि रिपोर्टर्स क्लब नेपालमार्फत अभियान चलाएको थिएँ ।’

उनले अब संविधानलाई सही मार्गमा ल्याउनको लागि र लोकतन्त्रलाई पनि अझ सुदृढ बनाउनको लागि तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने,‘मुलुक अब होमिइएसकेको छ । अहिले निर्वाचनको माहोल देशव्यापी रुपमा बनेको छ । यस्तो अवस्थामा सरकारले निर्वाचन सार्ने षड्यन्त्र नगरोस । जनता निर्वाृचनको पक्षमा छन् । केही ठूला दलहरु पनि भित्री रुपमा निर्वाचनको विपक्षमा छन्, तर जनताको भावनालाई सम्मान होस ।’ उनले विकल्प दिन्छु भनेर उदाएका केही दलहरु पनि अहिले नै भावी प्रधानमन्त्री घोषणा गरेर हिँड्न थालेको भन्दै यदि त्यस्तै हो भने पहिला शासकीय स्वरुपमा परिवर्तनको लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा बोकेर अघि बढ्न सुझाव दिए ।

उनले आफूले तीन दशकभन्दा लामो पत्रकारितामार्फत देशको सेवामा महत्वपूर्ण समय दिएको भन्दै अब राजनीतिमार्फत देशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यको लागि पहल गर्न संसदीय राजनीतिको लागि चुनावी प्रतिष्पर्धामा होमिएको स्पष्ट पारे । उनले भने,‘मेरो एकमात्र एजेण्डा भनेको जनताको मुहारमा खुशी, भ्रष्टाचार अन्त्य र सुशासन हो ।’ उनले आफूहरु नयाँ भएको र जनताको पक्षमा काम गरेको इतिहासले विकल्प दिनेगरि राजनीतिक मैदानमा उत्रिएको स्पष्ट पारे ।