काठमाडौं, १७ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताएका छन् ।
आज (शनिबार) ओखलढुङ्गा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले उच्च पहाडी र हिमाली भेगमा चुनाव हुन गाह्रो रहेको बताएका हुन् । उनले ती भेगहरुमा मान्छे नै नभएको र भोट हाल्नको लागि हिमाल चढ्नजस्तोगरी कोही पनि नजाने बताएका हुन् ।
‘हिमाली भेगमा मान्छे नै छैन। मान्छे नै नभएको ठाउँमा बाक्सा थापेर के हुन्छ ? ४ हजार मान्छे भएको ठाउँमा ४ जनाले भोट हालेर के हुन्छ ? चुनावमा नाटक मात्रै हुन्छ,’– उनले भने ।
साथै, अध्यक्ष अोलीले संसद् विघटनबारे सर्वोच्च अदालतले कानमा तेल हालेर बस्न नमिल्ने बताए । संसद् पुनर्स्थापनाको मुद्दामा सर्वोच्चले चाँडै फैसला दिनुपर्ने उनको भनाइ छ ।
‘हामीले पुनर्स्थापनाको माग गरिरहेका छौँ त्यो सुन्दै नसुन्ने, संविधान मिचिएको छ भनिरहेका छौँ हामी। अदालतले बोल्नुपर्यो, संविधान मिचिएको छैन भने पनि मिच्न पाइन्छ भने पनि अदालतले भनेपछि हामी मान्छौँ,’– उनले भने ।




प्रतिक्रिया