डिजेलकाे मूल्य बढ्यो, हवाई इन्धनको घट्यो


काठमाडौं, माघ १८ । नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य समायोजनसँगै डिजेल मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ३६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १३८ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ३९ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।

निगमले हवाई इन्धन (आन्तरिक र अन्तरराष्ट्रियतर्फ) को मूल्य भने घटाएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँ र अन्तरराष्ट्रियतर्फ काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर सात घटाइएको छ । मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी ९६६ पुगेको छ ।