काबुल, १८ माघ । घरेलु द्वन्द्व, असुरक्षा र गरिबीबाट ज्यान जोगाउँदै दशकौँअघि छिमेकी मुलुकतर्फ गएका लाखौँ अफगान नागरिक अहिले पुनः आफ्नो देश फर्कन बाध्य छन् । लामो समयसम्म शरण दिएका पाकिस्तान र इरानले पछिल्लो समय निर्वासन प्रक्रिया तीव्र पारेपछि लाखौँ अफगान सीमापार फर्किएका छन् ।
परिवारसहित सीमामा आइपुगेका वा एक्लै फर्किएका सबैका लागि गरिबी, कमजोर पूर्वाधार र वातावरणीय समस्याले घेरिएको अफगानिस्तानमा नयाँ जीवन सुरु गर्नु ठूलो चुनौती बनेको छ । फर्किएपछि उनीहरूले भोग्नुपरेका मुख्य कठिनाइहरू के–के छन् भन्ने विषयमा एएफपीले स्थलगत अवस्था समेटेको छ ।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) का अनुसार सन् २०२३ को सेप्टेम्बरदेखि अहिलेसम्म इरान र पाकिस्तानबाट ५० लाखभन्दा बढी अफगान नागरिक स्वदेश फर्किएका छन् । आइओएमका अफगानिस्तानस्थित उपप्रमुख मुत्या इजोरा मास्कुनका अनुसार यो सङ्ख्या देशको कुल जनसङ्ख्याको करिब १० प्रतिशत बराबर हो ।
गत वर्ष मात्रै करिब ३० लाख अफगानले सीमा पार गरी स्वदेश फर्किएका थिए । तीमध्ये धेरैले विदेशमा दशकौँ बिताएका थिए । यति ठूलो सङ्ख्यामा मानिसको आगमन कुनै पनि देशका लागि व्यवस्थापन गर्न अत्यन्त गाह्रो हुने मास्कुनको भनाइ छ ।
फर्किएपछि आवास सबैभन्दा गम्भीर समस्या बनेको छ । सेप्टेम्बर २०२३ देखि डिसेम्बर २०२४ को बीचमा फर्किएका एक हजार ३३९ आप्रवासीहरूमाथि गरिएको आइओएमको सर्वेक्षणअनुसार अफगानिस्तान आइपुगेको केही महिनापछि ८० प्रतिशत मानिससँग स्थायी घर थिएन । उनीहरू ढुङ्गा, माटो वा अस्थायी सामग्रीबाट बनाइएका झुपडीमा बस्न बाध्य थिए ।
यस्तै, संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसिआर) ले गत वर्ष जनवरीदेखि अगस्टसम्म फर्किएका अफगानहरूसँग गरेको अर्को सर्वेक्षणले पनि अवस्था कठिन रहेको देखाएको छ । सर्वेक्षणमा सहभागी तीन चौथाइ भाडामा बस्ने परिवारले भाडा तिर्न नसक्ने अवस्था रहेको बताएका थिए । धेरैजसो परिवारहरू चार जनासम्म एउटै कोठामा बस्न बाध्य रहेको तथ्य एक हजार ६५८ फर्केका व्यक्तिको विवरणबाट खुलेको छ ।
रोजगारीको अवस्था झनै निराशाजनक छ । आइओएमको सर्वेक्षणअनुसार पाकिस्तान र इरानबाट फर्किएका वयस्कमध्ये केवल ११ प्रतिशत मात्रै पूर्ण रूपमा रोजगारीमा छन् । युएनएचसिआरका अनुसार गत वर्षको सुरुका महिनामा फर्किएका मानिसहरूको औसत मासिक आम्दानी २२ डलरदेखि १४७ डलरसम्म मात्र थियो । यो आम्दानीले परिवारको आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिन भएको देखिन्छ ।
आवास र रोजगारीसँगै आधारभूत सेवाको अभाव पनि ठूलो चुनौती बनेको छ। आइओएमका अनुसार फर्किएका आधाभन्दा बढी घरपरिवारमा स्थिर बिजुली आपूर्ति छैन । विशेषगरी महिलाको नेतृत्वमा रहेका घरपरिवारहरू अझ बढी जोखिममा छन् । यस्ता घरपरिवारमध्ये करिब आधाले सुरक्षित पिउने पानीको पहुँच पाउन गम्भीर सङ्घर्ष गरिरहेको आइओएमले जनाएको छ ।
सरकारले फर्केकाहरूका लागि केही राहत उपाय अघि बढाएको जनाएको छ । अफगान सरकारका उपप्रवक्ता हमदुल्ला फितरातले जनवरीको मध्यतिर देशभर फर्किएका नागरिकलाई तीन हजारभन्दा बढी जग्गा वितरण गरिएको जानकारी दिएको थियो । सर्वोच्च नेतासँग भएको विशेष बैठकपछि यो प्रक्रिया थप तीव्र बनाइएको उनको भनाइ छ ।
अफगानिस्तान प्रवेश गरेपछि फर्किनेहरूले सामान्यतया यातायात खर्च, सिम कार्ड र केही नगद सहयोग पाउने गरेका छन् । तर यति ठूलो सङ्ख्यामा फर्किरहेका नागरिकका लागि यी सहायता पर्याप्त नभएको स्थानीय अवस्था र अन्तर्राष्ट्रिय संस्थाहरूको मूल्याङ्कनले देखाएको छ । दीर्घकालीन पुनःस्थापना, रोजगारी र आधारभूत सेवामा ठोस सुधार नभएसम्म फर्केकाहरूको जीवन अझै कठिन रहने सङ्केत स्पष्ट देखिन्छ । रासस




प्रतिक्रिया