एमाले उपमहासचिव योगेशको दाबी : झापा–५ मा अध्यक्ष ओलीले जित्ने कुरामा कुनै शंका नै छैन (भिडिओ–सहित)


काठमाडौं, १८ माघ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले अहिले चुनावी अभियानमा पार्टी होमिएको र एकढिक्का रहेको बताएका छन् । उनले पार्टीका उम्मेदवारलाई जिताउनको लागि पार्टी पँक्तिलाई आह्वान गरेका छन् ।

भट्टराईले अध्यक्ष केपी शर्मा ओली झापा–५ मा उठेको निर्वाचन क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहपनि चुनावी प्रतिष्पर्धामा उत्रिँदा चर्चा भएको टिप्पणी गरे । उनले झापा–५ मात्र नभएर सिंगो झापा नै एमालेको विरासत बोकेको जिल्ला भएको दाबी गरे । आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘कोशी प्रदेश नै एमालेको बलियो जनाधार भएको प्रदेश हो, त्यसभित्र झापा पर्दछ । यो ऐतिहासिक विरासत बोकेको जिल्ला हो । त्यो आन्दोलनको एउटा अग्रज नेता हो, एमालेको पूनर्गठन अभियानको संस्थापक नेता हो केपी ओली, उहाँ त्यहाँ चुनाव उठ्नुभएको छ । पार्टीको बलियो किल्ला पनि हो । स्वयम केपी ओलीले पटक पटक सांसद भएर, प्रधानमन्त्री भएर त्यहाँ विकासको काम गर्नुभएको छ ।’

विगतभन्दा यसपटकको निर्वाचनमा अध्यक्ष ओलीको लागि प्रतिष्पर्धा बढि गर्नुपर्ने र मेहनत गर्नुपर्ने उनको भनाई छ । उनले अध्यक्ष ओलीले झापा–५ बाट जित्ने कुरामा कुनै शंका नै नभएको पनि दाबी गरे ।