कास्की, १८ माघ । ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
प्रतियोगिता यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ । सहारा क्लबको आयोजनामा हुने उक्त प्रतियोगितामा विदेशका चार र स्वदेशी आठ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ नेपाल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ–मर्स्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड, सहारा क्लब पोखरालगायत सहभागी हुनेछन् ।
यसैगरी, भारतबाट थन्डरबोल्ट युनाइटेड (सिक्किम) सहित दुई समूह तथा उज्वेकिस्तानको आभा फुटबल क्लब र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब सहभागी हुने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
क्लबले पुरस्कार राशिमा वृद्धि गरेको उनले बताए । प्रतियोगिताको विजयी टोलीलाई १४ लाख एक हजार, उपविजेतालाई सात लाख एक हजार प्रदान गरिनेछ ।




प्रतिक्रिया