आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु ।
आज म तपाईँहरुको सामू एउटा नेताको रुपमामात्रै होइन, बरु एउटा बाबु, एउटा योद्धा र यो देशको माटोमा आफ्नो रगत र पसिना मिसाएको नागरिकको रुपमा उभिएको छु । इतिहासको धेरै मोडहरुमा हामी सँगै हिँड्यौं । कतिपय ठाउँमा हामीले सफलताका ठूला उत्सवहरु मनायौं । कतिपय ठाउँहरुमा हामीले अपुरणीय क्षति पनि व्यहोर्नुपर्यो ।
आजको यो घडी मेरा लागि केवल सत्ताको कुरा होइन । यो त देशको भविष्य र विशेषगरी मेरा युवा साथीहरु जेन–जी छोराछोरीहरुको सपनाको कुरा हो । धेरैलाई लाग्न सक्छ म र मजस्ता पुराना नेताहरु एउटै हुन् । तर, म प्रष्ट भन्न चाहन्छु– म ती पुरना नेताहरुको भीडमा छैन । म त्यो सत्ताको भागबण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्न, जसले देशलाई बन्धक बनाएर राखेको छ । म फरक छु र म यो प्रमाणित गरेरै छाड्ने छु ।
मेरो काम र मेरो निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ । व्यक्तिगत त्याग र संघर्षको भावना मेरो जीवनको यात्रा एउटा खुला किताबजस्तै छ । म त्यो पिता हुँ, जसले आफ्नै आँखा अगाडि जेठी छोरी ज्ञानु र जवान छोरा प्रकाशलाई गुमाउनुपर्यो । म त्यो श्रीमान हुँ, जसको जीवन संगिनीले बीच बाटोमै साथ छोडेर गईन् । मैले समयको चक्रमा आफ्ना परिवारका सदस्यहरुमात्रै होइन, हजारौ सहयोद्धा र सहयात्रीहरुलाई पनि गुमाएको छु । एउटा मान्छेले आफ्नो जीवनमा जे–जति गुमाउन सक्छ, मैले ती सबै गुमाएँ ।
तर, मलाई अझै पनि अगाडि बढ्न के कुराले प्रेरित गर्छ भने– यो संघर्ष मेरो व्यक्तिगत होइन । यो त ती हजारौं सहिदहरुको सपना पूरा गर्ने यात्रा हो । जसले एउटा सुन्दर र समृद्ध नेपालको लागि आफ्नो रगत बगाए । मलाई थाहा छ, मेरा परिवार र मेरा कमरेडहरुको यो बलिदान खेर जाने छैन । परिवर्तन अनिवार्य छ र म यो सुनिश्चित गर्नेछु कि– त्यो परिवर्तन भएरै छाड्नेछ । मेरो युवा साथीहरु, तपाईँहरुले आज जे मागिरहनुभएको छ– भ्रष्टाचारको अन्त्य, पारदर्शिता र एउटा बलियो सरकार । ती मैले जनयुद्धको बेलादेखि नै उठाउँदै आएका माग र एजेण्डाहरु हुन् ।
मैले लामो समयदेखि भन्दै आएको छु– यो देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ । यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेल्यो, त्यो हामी सबैले देखेका छौं, भोगेका छौं । त्यसैले म भन्छु– मेरो माग र तपाईँहरुको माग एउटै हो । म तपाईँहरुकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ । हलिउडमा एउटा चर्चित संवाद छ– या त तिमी नायकको रुपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित रहुँ । यदि म धेरै अघि विदा भएको भए सायद देशले मलाई नायकको रुपमा मात्रै सम्झिन्थ्यो होला । तर, म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ ।
म यो देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिने छैन । तपाईँहरुले मलाई आज कुन रुपमा देख्नुहुन्छ ? यो तपाईँहरुको अधिकार र स्वतन्त्रताको कुरा हो । मेरो अभावमा मेरो उपस्थितिको महशुस तब हुने छ, जब तपाईँहरुले मैले कोरेका परिवर्तनहरुलाई भोग्नुहुने छ । म हार मान्न तयार छैन । किनकी मेरो काम अझै सकिएको छैन । म नयाँ विचारहरुको लागि सधैं खुला छु । म नयाँ पुस्तालाई स्वागत गर्दछु र नयाँपनलाई आत्मसाथ गर्न तयार छु । तर, एउटा कुरा याद राख्नुस्– हरेक चम्किलो चिज हिरा हुँदैन । आजको यो डिजिटल युगमा सामाजिक सञ्जालका भ्रमहरुले तपाईँहरुलाई बहकाउन सक्छ । कसैले तपाईँहरुलाई सानो महशुस गराउन नदिनुस् ।
म यहाँ तपाईँहरुसँग भोट माग्न आएको होइन । म त तपाईँहरुलाई स्वतन्त्र चिन्तनको लागि अपिल गर्न आएको हुँ । प्रश्न सोध्न नछोड्नुस् । म त्यसको जवाफ दिन तयार छु । मलाई अझ बढी दवाब दिनुस् । म त्यसको सामना गर्न तयार छु । किनकी मलाई थाहा छ, मेरो शक्तिको स्रोत तपाईँहरु नै हो । हामीसँग अर्को २० वर्ष परीक्षण र त्रुटी गर्दै नयाँ नेताहरु जाँच्ने समय छैन । हामीले गम्भीरतापूर्वक सोच्नुपर्दछ ।
म ती वीर सहिदहरुप्रति नमन गर्दछु । जसले नेपालको सुन्दर भविष्यका लागि आफ्नो ज्यानको आहुति दिनुभयो । आउनुस् मिलेर एउटा यस्तो नेपाल बनाऔं, जहाँ कुनै पनि युवाले आफ्नो भविष्य खोज्न विदेशिन नपरोस् । धन्यवाद ।
(नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी गरेको भीडिओ सन्देशका आधारमा तयार पारिएको सन्देश ।)




प्रतिक्रिया