रामेछापेली जनतासँग प्रचण्डको अपिलः कुशललाई अत्याधिक मतले विजयी गराएर पठाउनुस्, त्यहाँको सबै जिम्मा म लिन्छु


काठमाडौं, १८ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रामेछापबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्याम श्रेष्ठ ‘कुशल’ लाई अत्याधिक मतले विजयी गराएर पठाउन अपिल गरेका छन् । शनिबार पेरिसडाँडामा आयोजित निर्वाचन विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुशललाई जिताएर पठाएको खण्डमा रामेछापेली जनताको जिम्मा आफूले लिने बताएका हुन् ।

प्रचण्डले रामेछाप, रामेछापेली जनता र कुशलका लागि के गर्नुपर्ने भन्ने कुराको जिम्मा पार्टी हेडक्वाटरले लिने बताए । ‘कुशललाई तपाईहरुले अत्याधिक मतले विजयी गराएर पठाउनुहोस् । रामेछापको लागि के गर्नुपर्छ, कुशलको लागि के गर्नुपर्छ र तपाईँहरुको लागि के गर्नुपर्छ, म जिम्मा लिन्छु । तपाईँहरु अगाडि बढ्नुुस्, विजयी गराउनुस्,’– प्रचण्डले भने ।

कुशललाई केही समय राज्यमन्त्री बनाएको स्मरण गराउँदै प्रचण्डले अब के–के बनाउनुपर्छ भन्ने कुराको निधो गर्ने बताए । रामेछापप्रति नेकपाको गहिरो सद्भाव, आशा र अपेक्षा रहेको पनि प्रचण्डले बताए ।

‘उहाँ केही समय राज्यमन्त्री हुनुभएको थियो । अब के–के बनाउनुपर्छ भन्ने कुरा पनि हामी निधो गर्नेछौं । तपाईँहरुले विजयी गराएर पठाउनुस्, बाँकी जिम्मा पार्टी हेडक्वाटरको । हाम्रो यो जिल्लाप्रति गहिरो सद्भाव, आशा र अपेक्षा पनि छ,’– संयोजक प्रचण्डले भने ।