फागुन २१ गतेको निर्वाचन देशको अस्तित्व र स्वाधीनता रक्षाका दृष्टिले महत्त्वपूर्ण छः बादल


काठमाडौँ, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१ मा हुने निर्वाचन देशको अस्तित्व र स्वाधीनता रक्षाका दृष्टिले महत्त्वपूर्ण रहेको बताएका छन् ।

प्रवासी नेपाली सङ्घ, भारत केन्द्रीय समितिको सातौँ बैठकलाई आज ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै उनले देश बनाउने नयाँ सङ्घर्षका रूपमा निर्वाचनलाई बुझ्नुपर्ने र सोहीअनुसार पार्टीका पक्षमा जनमत बनाउन लाग्न आग्रह गरे ।

पार्टीको निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहेका उपाध्यक्ष थापाले आफ्नो पार्टी देशभक्त र राष्ट्र निर्माणको बलियो शक्ति भएको भन्दै निर्वाचनमार्फत थप बलियो बनाउन चुनावमा खट्न आग्रह गरे । उनले निर्वाचनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा लोकतान्त्रिक सरकारको पुनर्स्थापना गर्ने लक्ष्य पूरा गर्न प्रवासमा रहेका नेपालीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

पार्टीले सबैको सुझावअनुसार चुनावी घोषणापत्रको तयारी गरिरहेको जानकारी दिँदै देश र जनताका सरोकारका विषयका साथै राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्धिका साथै अन्तरराष्ट्रिय सम्बन्धलगायत विषय त्यसमा समेटिने जानकारी गराए ।