ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र


बाँके, १९ माघ । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् ।

निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बितिसक्दा पनि कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाका प्रशासनिक भवन निर्माण सम्पन्न हुन सकेका छैनन् । ठेकेदारले काम नगरे पनि स्थानीय तहले म्याद थप्दै जाने प्रवृत्तिले प्रशासनिक भवन झनै अलपत्र परेका हुन् । 

यहाँको कोहलपुर नगरपालिकाले विसं २०७९ असारमा २०८१ पुस मसान्तसम्ममा सम्पन्न गर्ने गरी रु १५ करोड ३८ लाखमा भवन निर्माण गर्ने जिम्मा एशोसिएट रञ्जितकार जया भवानी जेभीलाई दिएको थियो । तर उक्त म्याद सकिएको एक वर्ष बित्दा पनि भवन निर्माण सम्पन्न भएको छैन ।

ठेकेदारले दिएको निवेदनअनुसार म्याद थप गरे पनि सन्तोषजनक रूपमा काम अगाडि बढ्न नसकेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बताए । 

विसं २०७९ मा निर्माण पूरा गर्नुपर्ने जानकी गाउँपालिकाको प्रशासनिक भवन पनि उस्तै छ । पाँच वर्षअघि रु चार करोड २२ लाख ८४ हजार ७१० लागतमा निर्माण सुरु भएकामा हालसम्म भौतिक प्रगति ८० प्रतिशत मात्र पूरा भएको छ ।

नरैनापुर गाउँपालिकाको नयाँ प्रशासनिक भवन अझै गाउँपालिकाले प्रयोग गर्न सकेको छैन । विसं २०७९ असोज ३१ गते महालक्ष्मी–जुगल बिल्डर्स जेभीले निर्माण सम्झौता गरेको भवन निर्माणका लागि रु छ करोड ८० लाख ३१ हजारमा ठेक्का सम्झौता गरेको थियो । समयमै काम सम्पन्न नभएपछि पालिकाले भवन निर्माणका लागि पटकपटक म्याद थपेको थियो । भवन निर्माण सम्पन्न नहुँदा जनतालाई सेवा प्रवाहमा असुविधा भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताए । 

बाँकेकै खजुरा गाउँपालिकाले प्रशासनिक भवन निर्माण नसकिँदै निर्माणाधीन भवनबाटै सेवा सुरु गरेको छ । खजुरा गाउँपालिका–३ बीगाउँस्थित निर्माणाधीन प्रशासनिक भवनबाटै सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए । 

उनका अनुसार प्रशासनिक भवनको अधिकांश संरचना निर्माण सकिएको र थोरै काम मात्र बाँकी छ । विद्युत्, वाइरिङ, पानी निकास जस्ता प्राविधिक संरचना जडान भइरहेको छ । रु पाँच करोड ३६ लाख चार हजार ८१५ लागतमा एम के जुगल जेभीले भवन निर्माण गरिरहेको छ । रासस