राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं, माघ १९ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । आज अपराह्न १ः१५ बजे बस्ने तय भएको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरु सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ लाई सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

साथै, आजको बैठकमा गृह मन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि तय भएको छ ।