काठमाडौं, १९ माघ । राजनीतिक विश्लेषक केशव दाहालले झापा–५ मा राजनीतिक दलहरुलाई भर्खरै चुनाव लाग्न थालेको बताएका छन् । झापा–५ मा चर्चामा रहेका उम्मेदवारहरु केपी शर्मा ओली र बालेन शाह दुवै जना प्रभावशाली व्यक्तित्व भएकोले चुनाव रोचक हुने उनको टिप्पणी छ । हिजो (आइतबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले झापा–५ मा बालेन शाहको लागि नयाँ मतदाताहरुमा निकै ठूलो क्रेज रहेको बताए ।
एउटै मान्छेलाई भोट हालेर बसेकाहरु टेस्ट चेञ्ज गर्न चाहनेहरुमा बालेन शाहप्रति सकारात्मक दृष्टिकोण रहेको पनि उनको भनाई छ । सोसल मिडियामा जे देखिएको वेभ छ त्यो पनि बालेन शाहको अर्को सकारात्मक पक्ष रहेको उनको भनाई छ । तर, बालेन शाहको सामू सबभन्दा ठूलो चूनौति भनेको पर्यटक उम्मेदवार भन्ने कुरा रहेको दाहालले सुनाए ।
उनले भने,‘उहाँ पर्यटक उम्मेदवार भएको हुनाले उहाँले त्यहाँको भूगोल चिन्नुहुन्न, मान्छे चिन्नहुन्न । त्यहाँका आदिवासी जनजाति को हुन् ? उनीहरुको मुद्दा के हुन् ? स्थानीय मुद्दा कसरी डिल गर्नुहुन्छ भन्ने कुरा चूनौति हो । तेस्रो कुरा, हर्क साम्पाङपनि उहाँको चूनौति हो ।’
दाहालले केपी ओलीको सकारात्मक कुरा गर्दा त्यहाँ एमालेको बलियो संगठन रहेको र झापामा विकास गर्नु बलियो पक्ष रहेको बताए । त्यस्तै, केपी ओलीको यो अन्तिम चुनाव भनेर सहानुभूतिपनि रहेको अर्को बलियो पक्ष रहेको दाहालको भनाई छ । सत्तामा भएको बेलामा नेपालमा ठूलो उथलपुथल भएको र त्यो जनेजी आन्दोलनप्रति ओलीको बुझाई अनि आत्मालोचना नगरेको भन्ने विषयमा कमजोर पक्ष देखिएको उनको टिप्पणी छ ।




प्रतिक्रिया