सचेत नागरिक खेम शर्माद्वारा ‘नागरिकको जिम्मेवारी’ नामक पुस्तक सार्वजनिक, देशलाई सफल बनाउने दाबी


काठमाडौं, १९ माघ । नेपालवादका परिकल्पनाकार तथा सचेत नागरिक खेम शर्माले नागरिक जिम्मेवारी नामक पुस्तक सार्वजनिक गरेका छन्। उनले २४ वटा क्षेत्रमा (२४ पिल्लर ) देशलाई सफल बनाउने “नागरिकको जिम्मेवारी” सम्बन्धी पुस्तक सार्वजनिक गरेका हुन्।

शर्माका अनुसार यो पुस्तक कुनै प्रचार सामग्री नभएर आत्मसमीक्षा हो । उनले भनेका छन्,‘हामीले नेताबाट मात्र होइन, आफ्नै दैनिकीबाट परिवर्तन सुरु गर्नुपर्ने सम्झना हो। हामीले वर्षौँदेखि “देश किन बनेन?” भनेर प्रश्न गर्दै आएका छौँ, आज हामी त्यसै प्रश्नको अर्को पाटो पनि राख्दैछौँः “देश बनाउन नागरिकले के–के गर्नुपर्छ?”

उनले नागरिक जिम्मेवारी भन्नाले देशभक्ति नारा नभएर यो त दैनिकीको ठ्याक्कै अभ्यास भएको सुनाए । उनले थपे,‘नियम पालन, सत्य–सूचना, श्रमको सम्मान, सार्वजनिक सम्पत्तिको संरक्षण र नतिजा माग्ने संस्कार। यी पाँच अभ्यास कमजोर भए उत्कृष्ट योजना पनि कागजमै सुक्छ। यी पाँच कुरा बलिया भए कमजोर नीति पनि सुध्रिन्छ, गलत अभ्यास पनि सप्रिन्छ, र असफल संस्थामा पनि उत्तरदायित्व जन्मिन्छ। मौनताले अन्यायलाई सामान्य बनाउँछ; सहभागिताले सुधारलाई संस्कृति बनाउँछ।’

सुरक्षा, परराष्ट्र र अर्थतन्त्रलगायतका विषयमा पनि उनले गहन कुरा गरेका छन् । उनले अघि भनेका छन्,‘सुरक्षा र आन्तरिक स्थिरता भन्नासाथ ध्यान प्रहरी वा सेनातिर जान्छ, तर सुरक्षित देशको पहिलो पर्खाल समुदायको संस्कार हो। छिमेकबीचको भरोसा, गैरकानुनी कामलाई ‘चलाखी’ भनेर नमान्ने बानी, पीडितलाई साथ दिने आचरण, र नियम उल्लङ्घनलाई सामान्य नठान्ने मानसिकता—यिनैले सुरक्षा प्रणालीलाई बल दिन्छ। परराष्ट्र सम्बन्ध पनि कागजी कूटनीतिले मात्र बन्दैन; विदेशमा नेपालीको व्यवहार, अनलाइनमा फैलिने साँचो–झुटो र देशको इमानदार छविले नै सम्बन्ध बलियो बनाउँछ। देशको छवि दूतावासभन्दा पहिले नागरिकको बानीले बनाउँछ।’

उनकाअनुसार किसान, मजदुर र उद्यमीलाई हेर्ने नजर बदलियो भने पनि उत्पादनको आत्मविश्वास बढ्नेछ । ऊर्जा, खानेपानी, सरसफाइ र फोहर व्यवस्थापनमा राज्यले लाइन, पाइप र योजना बनाउने भएपनि यसलाई टिकाउने काम नागरिकको अभ्यासमात्र निर्भर हुने उनको बुझाई छ ।

देश बनाउने अभियानमा हामी सबैले आफ्नो भूमिका पहिचान गरेर सोहीअनुसारको योगदान दिनुपर्ने शर्माको अपिल छ । उनले भने,‘यो यात्रालाई नारा होइन, प्रक्रिया बनायौँ—२०२६ जनवरी १ मा हामी १८ वटा पिल्लर लिएर जनतासामु प्रस्तुत भयौँ, अनि त्यसपछि हरेक दिन एउटा–एउटा पिल्लर सार्वजनिक गर्दै गाउँदेखि सहरसम्म, देशदेखि विदेशसम्मका नेपाली आमा बुबा, दिदीबहिनी तथा दाजुभाइको सुझाव सुन्दै आयौँ। र आज, ती सबै सुझाबलाई सम्मानपूर्वक समेट्दै हामी २४ वटा पिल्लर आवश्यक छन् भन्ने निष्कर्षमा पुगेका छौँ। किनकि यो “हाम्रो” होइन, “जनताबाट बनेको” निष्कर्ष हो।’

यही जिम्मेवारी र उत्तरदायित्वको संस्कारलाई अझ मजबुत बनाउन, २०२६ जनवरी २५ मा नागरिकले उम्मेदवारलाई सोध्नुपर्ने प्रश्नहरू पनि सार्वजनिक गरेका शर्माले भने,‘किनकि हामीलाई भाषण होइन, प्रतिबद्धता, र प्रतिबद्धतापछि नतिजा चाहिएको छ। २४ क्षेत्र फरक–फरक ढोका हुन्, तर भित्रको मुटु एउटै हो नागरिक जिम्मेवारी। जिम्मेवारी बोझ होइन; स्वाभिमान हो। सत्य जाँच, नियम पालन, श्रम सम्मान, सार्वजनिक सम्पत्ति संरक्षण, र नतिजा माग्ने साहस यी पाँच अभ्यास जोडिएपछि देशको दिशा बदलिन्छ। अन्त्यमा एउटै सत्य कुरा, राष्ट्रको ढाल हामी नै हौँ। धन्यवाद।’

https://drive.google.com/file/d/1vAmtKb-V1xxEWTx3ALIi3vDGvRPHNRKn/view?usp=sharing