भदौरे दम्पति हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न एमाले ओखलढुङ्गाको माग


ओखलढुङ्गा, १९ माघ । चिसंखुगढी गाउँपालिका-६ भदौरेमा भएको दम्पति हत्याको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुङ्गाले गम्भीर ध्यानाकर्षण गराएको छ। पार्टीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ।

एमालेले बुझाएको ज्ञापनपत्रमा भदौरे निवासी चन्द्रविक्रम राई र चन्द्रकुमारी राईको निर्मम हत्याप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।

ज्ञापनपत्रमा जिल्लामा पछिल्लो समय हत्या र लुटपाटजस्ता जघन्य अपराध बढ्दै गएको उल्लेख गरिएको छ। यस्ता घटनाले जिल्लावासी त्रसित बनेको र नागरिकको सम्मानपूर्वक बाँच्ने अधिकारमाथि गम्भीर आघात पुगेको एमालेको ठहर छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको संवेदनशील समयमा यस्ता आपराधिक गतिविधि बढ्नुले शान्ति-सुरक्षा मात्र नभई निर्वाचन प्रक्रियामै समेत नकारात्मक असर पर्न सक्ने भन्दै पार्टीले जिल्लामा शान्ति सुरक्षा संयन्त्रलाई थप प्रभावकारी रूपमा परिचालन गर्न माग गरेको छ।

एमाले ओखलढुङ्गाले घटनाको गहिरो अनुसन्धान गरी संलग्न जो-कोहीलाई तत्काल नियन्त्रणमा लिई कडा भन्दा कडा कानुनी कारबाही गर्न जोडदार माग गरेको छ। साथै यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न प्रशासनलाई आग्रह गर्दै पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ।

ज्ञापनपत्र नेकपा (एमाले) ओखलढुङ्गाका नेता एवं संविधानसभा सदस्य हर्कबोल राई, पार्टी जिल्ला कार्यालय सचिव कृष्ण बहादुर कार्की लगायतका नेताहरूले जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा बुझाएका हुन्।