नेपालगन्ज, १९ माघ । प्रेस काउन्सिलका अध्यक्ष डा कुमार शर्मा आचार्यले पत्रपत्रपत्रिका तथा सञ्चारमाध्यमको वर्गीकरणलाई व्यवहारिक बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
आज नेपाल पत्रकार महासङ्घ, बाँकेले यहाँ आयोजना गरेको ‘आम सञ्चारमाध्यम र आचारसंहिता कार्यान्वयन’ विषयक अन्तक्र्रियामा उनले वर्गीकरणमा देखिएका विकृतिलाई समाधान गर्न प्रयत्न गरिने बताए । अध्यक्ष आचार्यले वर्गीकरणको वास्तविक अवस्था के छ भन्ने बुझ्न अनुगमनको पाटो सशक्त हुनुपर्नेमा जोड दिए । उनले पत्रपत्रिका तथा सञ्चारमाध्यमलाई चिन्न सकेमात्र वर्गीकरण वास्तविक हुने बताए ।
उनले भने, “हामी जनशक्ति नभएका कारण ठाउँठाउँमा पुग्न सकेका छैनौँ त्यसैले इमान्दारिता प्रस्तुत गर्ने पछि परेका छन् र हामीले पनि न्याय गरिरहेका छैनौँ ।” वर्गीकरणको आधार पत्ता लगाएर यसलाई परिमार्जन गर्न खोजिरहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले आस्थाका आधारबाट पुरस्कार वितरण गर्ने काम बन्द गरिने बताए ।
हामीले योगदान र योग्यताका आधारमा पुरस्कार वितरण गर्छौं र विधागत पत्रकारिताका आधारमा पनि पुरस्कार वितरण गर्न सकिन्छ उनको भनाइ छ । उनले भने, “पत्रकारितामा गल्ती सच्चाउने तत्परता हुन जरुरी छ ।”
नेपाल पत्रकार महासङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारितामा आचारसंहिताको पालनाले मर्यादित पत्रकारितालाई टेवा पुग्ने विश्वास व्यक्त गरे । बाँकेका अग्रज पत्रकार कृष्ण अधिकारीले आमसञ्चारमाध्यमलाई वर्गीकरणका आधारमा अनुदान दिने काम बन्द गर्न काउन्सिललाई आग्रह गर्दै त्यसबाट सुधारको अपेक्षा गर्न सकिने बताए।
यसअघि अध्यक्ष आचार्यले आज सञ्चार संवादको कार्यालय शुभारम्भ गरेका थिए । रासस




प्रतिक्रिया