काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गते अघि विघटित संसद्को पुनःस्थापना नहुने दाबी गरेका छन् । कांग्रेस झापा निर्वाचन क्षेत्र नं २ को आयोजनामा आज विर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले फागुन २१ गते हुने चुनावमा पूर्णशक्तिका साथ होमिन पार्टी पङ्क्तिलाई आग्रह गरे ।
‘विघटित संसद् पुनःस्थापना हुँदैन । अदालती सुनुवाइ प्रक्रिया लामो हुन्छ । त्यसैले तोकिएको मिति फागुन २१ मा चुनाव हुन्छ,’– उपसभापति शर्माले भने ।
उनले पार्टीको नेतृत्व बदलेको कांग्रेस अब देशको मुहार बदल्ने अभियानमा होमिएको जनाउँदै विशेष महाधिवेशनमार्फत नेतृत्वमा युवालाई निर्वाचित गरेर कांग्रेस नवीन पार्टी बनेको बताए ।
उपसभापति शर्माले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी फागुन १ देखि २१ गतेसम्म आफ्नो निर्वाचन क्षेत्र नछाडी पार्टीका उम्मेदवारहरुको पक्षमा मत माग्न निर्देशन दिँदै पार्टीले १०६ वटा निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको बताए ।
जेनजी आन्दोलनको माग सम्बोधन गर्ने सामथ्र्य नेपाली कांग्रेसमा रहेको धारणा व्यक्त गर्दै उनले पार्टी बदलेर अब देश बदल्ने संकल्पका साथ आफूहरु लागिरहेको बताए । जेनजी आन्दोलनपछि टुटेको जनविश्वासलाई जोड्ने तागत कांग्रेससँग रहेको जनाउँदै उनले विशेष महाधिवेशनपछि पार्टी एकढिक्का भएको बताए ।




प्रतिक्रिया