झापा–५ मा अध्यक्ष ओलीले राम्रो मतका साथ जित्ने एमाले नेता अधिकारीको दाबी (भिडिओ–सहित)


काठमाडौं, २० माघ । नेकपा (एमाले) का प्रभावशाली नेता खगराज अधिकारीले देशको स्वाधिनता जोगाउने र देशलाई दुर्घटनाबाट बचाउने हो भने संसद् पुनःस्थापना गरिनुपर्ने बताएका छन् । आजको आवश्यकता निर्वाचन कि संसद् पुनःस्थापना भनेर सोधिएको प्रश्नमा नेता अधिकारीले भने,‘सबभन्दा उपयुक्त र देशको स्वाधिनता जोगाउने हो भने दलहरुबीच सम्वाद गरेर संसद् पुनःस्थापना, कानून, विधि र संविधानले यही भन्छ । संवैधानिक बाटो त्यही नै हो । तर, उपयुक्त समयमा यो नहुँदा त दोस्रो विकल्प त निर्वाचन हो ।’

उनले अहिले निर्वाचन हुन्छ कि हुँदैन् भन्ने सशंय कायम रहेको टिप्पणी गरेका छन् । उनले निर्वाचनमा स्वस्थ प्रतिष्पर्धाको लागि भरपुर अभाव रहेको बताए । सुशीला सरकारमा गएका र निर्वाचनमा जान्नौं भनेकाहरुले पनि धमाधम निर्वाचनमा उम्मेदवारी दर्ता गराएको विषयले लोक पनि लजाएको उनको टिप्पणी छ । आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले ती व्यक्तिहरुले नैतिकता बिर्सिएको टिप्पणी गरे ।

उनले संसद् पूनःस्थार्पनाको विषयमा परेको रिटमाथि सर्वोच्च अदालत प्रवेश नै नगरेको भन्दै ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हुने भन्दै गुनासो पोखे । अर्कोतर्फ, सरकारले चुनावको रट लगाएको भएपनि चुनावको वातावरण राम्रो बनाउन नसकेको उनको आलोचना गरे । जेनजी आन्दोलनमा फरार भएका कैदीबन्दीहरु र लुटिएका हतियार अझै पनि फिर्ता नआएको अवस्थामा चुनावी वातावरण बन्यो कि बनेन भन्ने कुरा मूल विषय रहेको उनको भनाई छ । उनले सरकारले चुनावको वातावरण बनाउन नसकेको आरोप लगाए । उनले भयरहित वातावरण नबिनसकेको दाबी गरे ।

झापा–५ का जनतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीको बारेमा कुनै द्धिविधा नभएको अधिकारीको दाबी छ । ओलीले राम्रो मतका साथ सो क्षेत्रबाट जित्ने पनि उनले दाबी गरे । उनले ओलीले जनताको मन जितिरहेको स्पष्ट पारे । झापाको विकासमा ओलीको योगदान रहेको भन्दै जित निश्चित् रहेको उनको दाबी छ । उनले बालेन शाह नयाँ नभएको भन्दै काठमाडौं महानगरपालिकाको नेतृत्वमा बसेर टेस्टेड भएर गएको टिप्पणी गरे । अधिकारीले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा एमालेले जित्ने दाबी गरे ।