झापा, २० माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नं १ मा चुनावी सरगर्मी बढेको छ । यहाँका प्रमुख राजनीतिक दलहरू यतिबेला भुइँतहसम्म सङ्गठन चलायमान तुल्याउँदै मतदाता फकाउने अभियानमा केन्द्रित देखिएका छन् ।
यसअघिको निर्वाचनमा यहाँ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वकानुनमन्त्री अग्नि खरेललाई पराजित गरेका थिए । यस क्षेत्रमा यसपटक १३ राजनीतिक दल र दुई जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
नेपाली कांग्रेसले यसपटक जिल्ला उपसभापति केशवराज पाण्डेलाई चुनावी मैदानमा उतारेको छ । कांग्रेस क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले आगामी फागुन ४ गतेदेखि मात्रै औपचारिक प्रचारप्रसारका कार्यक्रम सुरु गर्ने जानकारी दिए ।
अहिले पार्टीको आन्तरिक सङ्गठनलाई चुस्त र व्यवस्थित बनाउँदै वडा तहसम्म प्रचार कार्यालय खोल्ने तयारीमा जुटिरहेको उल्लेख गर्दै उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीसँगै देश बदल्ने धारणा र योजना बोकेको कारण पार्टीप्रति मतदाताकोे आकर्षण बढिरहेको बताए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थानीय बौद्धिक व्यक्तित्व रामचन्द्र उप्रेतीलाई उम्मेदवार बनाएको छ । एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीका अनुसार पार्टीले अहिले वडास्तरीय अगुवा कार्यकर्ता भेला र निर्वाचन परिचालन समिति निर्माणलाई तीव्रता दिएको छ । गाउँ–बस्तीमा विकास र समृद्धिको अभियानमा एमाले नै चाहिन्छ भन्ने जनताको बुझाइ रहेको उनले दाबी गरे । कार्कीले युवा, विद्यार्थी, महिला र मजदुरका सुझावका आधारमा चुनावी अभियान सञ्चालन गरिरहेको बताए ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मेचीनगर अध्यक्ष राजन चिमरियाले अहिलेको चुनावलाई जनतामाथि थपिएको ऋणको भारका रूपमा मतदाताले व्याख्या गर्ने गरेको बताए । उनले सुशासन कायम गर्ने प्रतिबद्धतासहित पार्टीले युवा उम्मेदवार अशेष घिमिरेलाई चुनावमा उम्मेदवार बनाएको बताए ।
हाल जनताका समस्या बुझ्ने र राजनीतिक परिस्थितिबारे बुझाउने काममा पार्टीका नेता–कार्यकर्ता व्यस्त रहेको उनले जानकारी दिए ।
त्यसैगरी नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस क्षेत्रमा पूर्वसांसद निशा डाँगीलाई उम्मेदवार बनाएको छ । रास्वपा नेता ऋषि तिम्सिनाका अनुसार पार्टीले अहिले वडा–वडाबाट सुझाव सङ्कलन गरी ‘वाचा पत्र’ तयार पार्ने काम गरिरहेको जानकारी दिए ।
मतदाताले पुराना दलहरूबाट भ्रष्टाचार नियन्त्रण हुन नसकेको गुनासो गरिरहेकाले भ्रष्टाचार उन्मूलन र सुशासनलाई नै रास्वपाले मुख्य चुनावी ‘एजेन्डा’ बनाएको उनको भनाइ छ । अरू दलभन्दा फरक भएको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थासहितको प्रजातन्त्र, हिन्दूराष्ट्र स्थापना र सङ्घीयता खारेजीको मुद्दा बोकेर घरदैलो सुरु गरेको जनाएको छ ।
राप्रपा केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले ठूला दलप्रति जनताको वितृष्णा बढ्दो रहेकाले राप्रपालाई जनताले विकल्पका रूपमा हेरेको दाबी गरे । निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल एक लाख ३१ हजार ६७ मतदाता रहेका छन् । त्ससमा ६५ हजार ८५८ पुरुष र ६५ हजार २९ महिला छन् । यसपटक थपिएका १० हजार ६९२ नयाँ मतदातालाई सबै दलले निर्णायक शक्तिका रूपमा हेरेका छन् ।
झापा निर्वाचन क्षेत्र नं १ मा मेचीनगर नगरपालिकाका सबै १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६ र ७ नं गरी चार वडा र भद्रपुर नगरपालिकाको ९ र १० गरी दुई वडा समेटिएको छ । यहाँ ४३ मतदानस्थल र १४५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
उम्मेदवारले औपचारिक रूपमा भोट माग्नका लागि निर्वाचन आयोगले तोकिदिएको समय आउन अझै केही दिन बाँकी छ । तथापि दल तथा उम्मेदवार भित्री रूपमा मतदाता रिझाउने र सङ्गठन बलियो बनाउने काममा व्यस्त देखिन्छन् । रासस




प्रतिक्रिया