राफाह सीमा खोलेको पहिलो दिन गाजाबाट इजिप्टमा दर्जनौँ मानिसहरूको प्रवेश


राफाह,(इजिप्ट), २० माघ । राफाह सीमा पुन: खोलेको पहिलो दिन, दर्जनौ घाइते प्यालेस्टिनी र उनीहरूका साथीहरू गाजाबाट सोमबार इजिप्टमा प्रवेश गरेको इजिप्टको सिमानाको एक स्रोतलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घ लगायत र सहायता समूहहरूले माग गरे बमोजिम पुनः सीमा खोल्नु, गाजाका लागि युद्धविराम योजनाको दोस्रो चरण भएको जनाइएको छ । जहाँ दुई वर्षको युद्ध पछि मानवीय अवस्था गम्भीर छ ।

इजिप्टको सिमानामा रहेका अधिकारीहरूका अनुसार सोमबार सीमाबाट इजिप्टमा प्रवेश गर्न अनुमति दिइएको बिरामीहरूको संख्या ५० थियो भने प्रत्येकसँग दुई जना साथीहरू थिए ।

इजिप्टका स्वास्थ्य अधिकारीलाई उदृत गर्दै एएफपीले प्यालेस्टिनी बिरामीहरू लिएर तिनवटा एम्बुलेन्सहरू आइपुगेका थिए भने जसलाई कुन अस्पतालमा लैजानु पर्छ भनेर निर्धारण गर्न चेकजाँच गरिएको थियो ।

इजिप्टको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अलकाहेरा न्युजले प्यालेस्टिनी बिरामीहरू लिनका लागि १५० वटा अस्पताल र ३०० वटा एम्बुलेन्स तयार रहेको जनाएको छ । स्थानान्तरण गरिएका व्यक्तिहरूलाई उपचार गर्न १२ हजार डाक्टर र ३० वटा र्यापिड डिप्लोयमेन्ट टोली छुट्याइएको छ ।

गाजा शहरको अल–शिफा अस्पतालका निर्देशक मोहम्मद अबु साल्मियाले यस क्षेत्रमा २० हजार बिरामीहरू तत्काल उपचारको पर्खाइमा छन्, जस मध्ये चार हजार ५०० बच्चाहरू रहेका छन् । एएफपीले सोमबार सार्वजनिक गरेका तस्बिरहरूमा प्यालेस्टिनीहरूलाई फर्कनको लागि तयारी अवस्थामा राखिएका खाली बसहरू देखाएको थियो ।

सन् २०२४ मे मा हमाससँगको युद्धको क्रममा इजरायली सेनाले इजिप्टको प्रवेशद्वारको नियन्त्रण कब्जा गरेपछि सीमामा अपरेसनको सुरुवात भएको हो ।

गाजाको नागरिक सुरक्षाले सप्ताहन्तमा इजरायली आक्रमणको लहरमा दर्जनौंको मृत्यु भएको रिपोर्ट गरेको छ भने सेनाले प्यालेस्टिनी लडाकुहरू राफाह सहरको सुरुङ्गबाट बाहिर निस्किएको जनाएको छ ।

गाजाको निरीक्षण गर्न स्थापित प्यालेस्टिनी प्राविधिक समितिका प्रमुख अली साथले रफाहको पुनः खोलाइले यस क्षेत्रका लागि “आशाको प्रदान गरेको बताएका छन् । रासस