रास्वपालक्षित एमाले उपमहासचिव भट्टराईको टिप्पणी : ह्वीममा बनेका दलहरु स्थायी हुँदैनन्


काठमाडौं, २० माघ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराई यतिवेला चुनावी प्रचारप्रसारको लागि देशव्यापी रुपमा सक्रिय भएका छन् । यो पटकको निर्वाचमा टिकट नपाएपनि भट्टराईले पार्टीका उम्मेदवार जिताउनको लागि आफ्नो सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

कहिले गृहजिल्ला ताप्लेजुङ त कहिले चितवन, अनि काठमाडौं कहिले नवलपरासी दौडाहमा रहेका भट्टराईले यो निर्वाचनमा पनि एमाले पहिलो दल बन्ने दाबी गरेका छन् । एमालेसँग बलियो जनाधार रहेको भन्दै उनले एमालेको जितलाई कसैले रोक्न नसक्ने उनको बुझाई छ । उनले झापा–५ मा पनि अध्यक्ष केपी शर्मा ओलीले सजिलै विजय हाँसिल गर्ने दाबी हालैको नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम ‘नेपाली बहस’ कार्यक्रममा गरेका थिए ।

उनले रास्वपासँग विचार, सिद्धान्त नभएको भनेर आलोचना गर्ने गरेका छन् । हालै चितवनमा आयोजित एक पत्रकार सम्मेलनमा पनि उनले कुनै खास विचार, सिद्धान्त नभएका र हुईयाँमा बनेका दलहरू स्थायी नहुने भन्दै रास्वपालक्षित टिप्पणी गरेका थिए । उनले यस्ता दलले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने दाबी गरेका थिए । उनले भनेका थिए,‘दुनियाँका जुनसुकै मुलुकमा पनि विचार र सिद्धान्तबाट बनेका, जमिनमा टेकेका दलहरूले नै त्यो देश थाम्ने हो । कुनै खास एजेन्डा र हुईममा बनेका दलहरू स्थायी हुँदैनन् । राजनीतिक दल भनेको राष्ट्रका खम्बा हुन् । ती खम्बा कमजोर हुनुहुँदैन ।’

ृभट्टराईले अहिले नेपालमा नक्कली मानिसहरू देखापरेर पपुलिजमको आधारमा नक्कली पार्टी खडा गरेको भनेर रास्वपाप्रति कडा टिप्पणी गरेका थिए । राजनीतिक दल र नेतृत्व जनतासँग संवाद गर्ने हुनुपर्ने भन्दै उपमहासचिव भट्टराईले जनताले सुनिने र देखिने हुनुपर्ने धारणा राखेका थिए । ‘राजनीतिक दल र नेतृत्व जनताको पहुँचमा हुनुपर्छ । जनताले छुन, हेर्न र आलोचना गर्न सक्ने र जनताको विरोध र आलोचना सहन सक्ने हुनुपर्छ । जनताले नदेखेको, छुन पनि नपाएको र प्रश्न पनि गर्न नपाएको नेतृत्व अहिले आइरहेको छ’–उनले बालेनलक्षित यस्तो टिप्पणी गरे । उनी अघि भन्छन्–‘नेतृत्व जनतासँग बोल्दैन, संवाद गर्दैन भने तिनका दलहरूले के गर्छन् ?’ file photo