काठमाडौँ, २१ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट काठमाडौँ उपत्यकामा उम्मेदवारी दिएकाहरूले उपत्यकाको एकीकृत विकासको अवधारणा कार्यान्वयनमा जोड दिएका छन् ।
एमाले राजधानी विशेष प्रदेश कमिटी र प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित ‘उम्मेदवार–पत्रकार संवाद’ कार्यक्रममा नेताहरूले राष्ट्रिय हितलाई आफूहरूले केन्द्रमा राख्ने बताएका हुन् ।
कार्यक्रममा एमालेका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेलले पार्टीको घोषणापत्रमा निश्चित मुद्दामा समयबद्ध तालिकासहित कार्यान्वयनमा जाने प्रतिबद्धता व्यक्त गरे । उनले उपत्यकाको एकीकृत विकासमा एमालेले सधैँ महत्त्व दिएको बताए।
पार्टीका सचिव एवं काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार डा राजन भट्टराईले देशको भूराजनीतिक अवस्था र वर्तमान परिवेश गम्भीर रहेको परिस्थितिलाई आत्मसात् गरी मतदाताले निर्वाचनका क्रममा विवेक पु¥याउने विश्वास व्यक्त गरे ।
पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतले विकास र समृद्धि तथा राष्ट्रिय हितका पक्षमा एमाले रहेको बताए । राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालले उपत्यकाको एकीकृत विकासलाई प्राथमिकता दिइने स्पष्ट गरे । रासस




प्रतिक्रिया