सप्तरी २१, माघ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको चुनाव केवल सरकार फेरबदलको प्रक्रिया मात्र नभई शासन प्रणालीको चरित्र परिवर्तन गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्। युवा पुस्ताको चेतना, प्रश्न गर्ने साहस र जवाफदेही शासनको मागलाई केन्द्रमा राख्दै जसपा नेपाल त्यसलाई नारामा सीमित नगरी नीतिगत सुधारमार्फत कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन्।
सप्तरी क्षेत्र नम्बर ३ मा बुधबार चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, “आजको युवा पुस्ता चुप लागेर बस्ने होइन, प्रश्न गर्ने पुस्ता हो। उनीहरूले पारदर्शी निर्णय प्रक्रिया, सार्वजनिक खर्चको खुला विवरण र राजनीतिक हस्तक्षेपबाट मुक्त सरकारी निकाय चाहेका छन्। यही मागलाई सम्बोधन गर्न जसपा नेपाल अघि बढिरहेको छ।” उनले सुशासन बिना विकास सम्भव नहुने र भ्रष्टाचार नियन्त्रण नगरी लोकतन्त्र बलियो नहुने स्पष्ट धारणा राखे।
युवा पुस्ताले बेरोजगारी, अवसरको अभाव र अनिश्चित भविष्यको मूल्य तिर्नुपरेको उल्लेख गर्दै उनले युवा पुस्ताको यही आक्रोश र अपेक्षालाई सम्बोधन गर्न जसपा नेपाल अनियमितता, बेथिति र भ्रष्टाचारविरुद्ध कठोर एजेन्डासहित मैदानमा उत्रिएको बताए।
मतदातालाई सम्बोधन गर्दै उनले भने, “अब चुप लाग्ने होइन, परिवर्तनको नेतृत्व गर्ने समय आएको छ। स्वच्छ, जवाफदेही र पारदर्शी शासनका लागि जसपा नेपाललाई साथ दिनुहोस्।”
जसपा नेपालले चुनावी घोषणा पत्रमार्फत् विगतदेखि वर्तमानसम्म भएका सबै भ्रष्टाचार काण्डको निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्ने स्पष्ट प्रतिबद्धता गरेको उनले जानकारी गराए। “दोषी जो-कोही भए पनि-पूर्व वा वर्तमान पदाधिकारी, राजनीतिक नेता, कर्मचारी वा व्यवसायी-कानुन अनुसार कारबाही हुनुपर्छ। पद, पहुँच र राजनीतिक संरक्षणका कारण अब कसैलाई उन्मुक्ति दिइने छैन,” यादवले भने।
अध्यक्ष यादवले भने, “अख्तियार, अदालत र अनुसन्धान निकायलाई पूर्ण रूपमा स्वायत्त र सशक्त बनाउने प्रतिबद्धता दोहोर्याउँदै सार्वजनिक सूचना पहुँचको अधिकारलाई प्रभावकारी बनाइने र कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्छ। अब व्यक्तिको शासन होइन, कानुनको शासन अपरिहार्य छ ।”




प्रतिक्रिया