मोदीद्वारा अमेरिकी व्यापार सम्झौताको स्वागत, विपक्षीबाट संवेदनशील क्षेत्रमा असरको प्रश्न


नयाँदिल्ली, २१ माघ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सामानमा अमेरिकी आयात शुल्क घटाउने सम्झौताको स्वागत गरेका छन्, तर विपक्षी सांसदहरूले कृषि र संवेदनशील क्षेत्रमा पर्न सक्ने असरबारे प्रश्न उठाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतमा रुसी तेल खरिद घटाउने वा रोक्ने सर्तमा आयात शुल्क घटाउने योजना घोषणा गरेका हुन् । यसअनुसार भारतले अमेरिकी सामानमा आयात कर शून्यमा झार्ने र पाँच खर्ब अमेरिकी डलर मूल्यको उत्पादन किन्न सुरु गर्ने व्यवस्था हुनेछ । मोदीले कर कटौतीबाट आफू खुसी भएको र ट्रम्पको नेतृत्वलाई विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिका लागि महत्त्वपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी दूतावासका प्रवक्ताले भारतमा अन्तिम आयात शुल्क १८ प्रतिशत हुने पुष्टि गरेका छन् । यसले भारतीय निर्यातकलाई ५० प्रतिशतसम्मको संयुक्त करको प्रभावबाट राहत दिने अपेक्षा गरिएको छ ।

विपक्षी राजनीतिक दलहरूले सम्झौतामा कृषि र दुग्धजस्ता संवेदनशील क्षेत्रको सुरक्षा सुनिश्चित हुनुपर्ने भन्दै तल्लो सदनको कार्यवाही रोकेका छन् । अमेरिकी कृषिमन्त्री ब्रुकर रोलिङ्सले सम्झौताले अमेरिकी किसानलाई भारतमा निर्यात बढाउन, मूल्य उचाल्न र ग्रामीण क्षेत्रमा नगद प्रवाह गर्न मद्दत गर्ने बताएका छन् । सन् २०२४ मा भारतसँगको अमेरिकी कृषि व्यापार घाटा एक अर्ब ३० करोड डलर थियो ।

भारतीय व्यापारमन्त्री पियुष गोयलले संवेदनशील क्षेत्रहरू सम्झौतामा सुरक्षित गरिएको र भारतले उत्कृष्ट सम्झौता पाएको बताए । उनले जनतालाई आश्वस्त पार्दै सम्झौताले हरेक भारतीयको हितसँगै कृषि र अन्य संवेदनशील क्षेत्रको सुरक्षा पनि सुनिश्चित गर्ने बताए ।

विश्लेषकहरूले समयसीमा, कभर हुने उत्पादन र संवेदनशील क्षेत्रको सुरक्षा स्पष्ट नभएसम्म उत्सव मनाउन हतार नगर्न चेतावनी दिएका छन् । अमेरिकी सामानको पाँच खर्ब डलर आयातमा पुग्न हालको दरमा कम्तीमा दुई दशक लाग्ने अनुमान गरिएको छ ।

यस सम्झौताले भारत र अमेरिकी बजारबीचको व्यापार विस्तार गर्ने मात्र नभई श्रम–गहन, निर्माण र उच्च प्रविधि क्षेत्रमा पारस्परिक लाभदायक अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ । विशेषज्ञहरूले संवेदनशील क्षेत्रको संरक्षणबिना हतारमा सम्झौतामा प्रवेश गर्नु जोखिमपूर्ण हुने बताएका छन् ।

मोदी र ट्रम्पबीचको यो सम्झौताले युक्रेनविरुद्धको युद्धका कारण रुसी तेलको निरन्तर खरिद रोक्ने पहलसँग सम्बन्धित रहेको बताइएको छ । ट्रम्पले एक्स प्लेटफर्ममा लेखेका छन्, “यसले युक्रेनमा युद्ध समाप्त गर्न मद्दत गर्नेछ, जहाँ प्रत्येक हप्ता हजारौँ मानिसको मृत्यु भइरहेको छ ।” रासस