बाबुरामको सचिवालयले भन्यो : युनिफिकेशन चर्चसँग बाबुरामको संलग्नता भनेर भ्रम सिर्जना गरियो


काठमाडौं, २१ माघ । डा. बाबुराम भट्टराईको सचिवालयले पछिल्लो समय विभिन्न मिडियामा बाबुरामको युनिफिकेशन चर्चसँग संलग्नताबारे आएको समाचार ठोस तथ्य वा प्रमाण नरहेको र भ्रम फैलाईएको भनेर दाबी गरेको छ । सचिवालयले आज एक विज्ञप्ति निकालेर खण्डन गरेको छ ।

सचिवालयले लेखेको छ–

युनिफिकेशन चर्चसँग डा. बाबुराम भट्टराईको संलग्नता बारे नेपालका केही नयाँ तथा पुराना भनिने ( Indepth Story, Tanka Dahal,Himal Khabar, Nepali Times) लगायतका सञ्चारमाध्यमहरूले तथ्य र प्रमाणविनाको भ्रामक समाचार फैलाएको देखिन्छ। उक्त समाचारमा कुनै पनि ठोस तथ्य वा प्रमाण नरहेको स्पष्ट भइसकेको छ।तथापि, उत्तेजनात्मक शीर्षक र प्रस्तुतीमार्फत उहाँलाई अन्य पूर्व प्रधानमन्त्रीहरूसँग जोडेर अनावश्यक भ्रम सिर्जना गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको छ ।
२०६८ सालमा एकनाथ ढकाल मन्त्रिपरिषद्मा सहभागी भएको उल्लेख बाहेक यस प्रसंगसँग सुसंगत कुनै आधार प्रस्तुत गरिएको छैन, जबकि त्यतिबेला उक्त विषय सार्वजनिक बहसमा नै थिएन। पहिलो संविधानसभाको सन्दर्भ र सरकारको संरचना पनि फरक प्रकृतिको थियो । तसर्थ, उक्त सामाग्रीले पूर्व प्र म डा. बाबुराम भट्टराई बारे आम जनतामा पर्न गएको भ्रम प्रति सार्वजनिक माफी माग्नुका साथै आगामी दिनमा यस्ता सन्दर्भविहीन र तथ्यहीन सामग्री सम्प्रेषण नगर्नुहुन विनम्र तर स्पष्ट ध्यानाकर्षण गराइन्छ। – सचिवालय