काठमाडौँको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं


काठमाडौँ, २१ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले काठमाडौँ सहरको योजना बनाउँदा यसको ऐतिहासिक, सांस्कृतिक र पारिस्थितिक विशेषतालाई विस्तृत रूपमा अध्ययन गरी दिगो विकास केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् ।

आज काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजनामाथि सरोकार भएका निकाहरूबीच भएको गोष्ठीमा उनले जीवन्त र सांस्कृतिक महत्त्व बोकेको काठमाडौँ उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायातको आवश्यकता रहेको उल्लेख गरे ।

मन्त्री चौलागाईंले काठमाडौँ अन्य नयाँ सहरजस्तो नभएकाले यहाँ एउटै ढाँचाको योजना लागू गर्न नसकिने धारणा राखे । उनले काठमाडौँ शताब्दीऔँ पुराना परम्परा, संस्कृति र आधुनिकताको सुन्दर समिश्रणका रूपमा स्थापित सहर हो भने ।

“काठमाडौँ एउटा ऐतिहासिक सहर हो । यहाँ इतिहास र आफ्नै परम्परा छ, पारिस्थितिक प्रणाली र विविध जीवनशैलीको सङ्गम छ”, उनले भने, “सहरको योजना बनाउँदा यही आत्मा र सूक्ष्मता योजनामा प्रतिविम्बित हुनुपर्छ ।”

मन्त्री चौलागाईंले आधुनिक र प्राविधिक समाधान अपनाउँदा पनि सांस्कृतिक सम्पदा, ऐतिहासिकस्थल र ‘जनताको सहर’ भन्ने अवधारणा जोगाउनुपर्नेमा जोड दिए । सरकारको लक्ष्य सवारी केन्द्रितभन्दा मानव केन्द्रित सहर निर्माण गर्ने रहेको उनको भनाइ छ ।

मन्त्री चौलागाईंले योजना निर्माणका क्रममा मन्त्रालय र सरोकार भएका निकायका प्रतिनिधिबीच समन्वय नहुँदा कार्यान्वयनको चरणमा द्वन्द्व उत्पन्न हुनेसक्ने समस्या औँल्याए । “योजनाकार, इञ्जिनियर र संरक्षणविद्बीच संवाद हुँदैन”, उनले भने, “त्यसैले प्रभावकारी योजना कार्यान्वयनका लागि सुरुदेखि सबै सरोकार भएका निकायबीच समन्वय आवश्यक छ ।”

नयाँ सरकार गठनपछि करिब दुई महिनादेखि सक्रिय रूपमा काम भइरहेको उल्लेख गर्दै उनले अन्तरराष्ट्रिय समुदायबाट प्राप्त सहयोगलाई राष्ट्रिय हितमा प्रभावकारी रूपमा प्रयोग गर्दै लग्नुपर्ने आवश्यक औँल्याए। यस सन्दर्भमा मन्त्री चौलागाईंले नेपाल–जापान सहकार्य बहुआयामिक र दीर्घकालीन रहेको उल्लेख गरे ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाइँदै गरेको स्मरण गर्दै मन्त्री चौलागाईंले जापानबाट प्रविधि, विचार र विशेषज्ञता प्राप्त भइरहेको बताए । “यो सहकार्य एकतर्फी होइन, ज्ञान र अनुभवको आदानप्रदान हो”, उनले भने ।

उनले रणनीतिक वातावरणीय मूल्याङ्कन (एसइए) सम्बन्धी पहल भविष्यका योजनाका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे । प्रक्रियालाई अनावश्यक रूपमा जटिल नबनाउन आग्रह गर्दै उनले प्रक्रिया सरल, स्पष्ट र व्यवहारमैत्री हुनुपर्नेमा जोड दिए ।

मन्त्री चौलागाईंले एउटै नीति सबैका लागि उपयुक्त नहुने भन्दै लक्षित र सन्दर्भअनुसारका रणनीति आवश्यक रहेको बताए । “काठमाडौँमा बनाइएको नीति जस्ताकोतस्तै देशभर लागू गर्दा अधिकांश योजना असफल भएका छन्”, उनले भने, “भूगोल, संस्कृति र जीवनशैलीअनुसार फरक योजना भएमा समाधान सम्भव हुन्छ ।”

मन्त्री चौलागाईंले स्थानीय ज्ञान र अभ्यासलाई नीति निर्माणमा समेट्नुपर्नेमा जोड दिए । “विविधतालाई समाधानको आधारका रूपमा बुझ्न सके मात्र न्यायपूर्ण र दिगो विकास सम्भव हुन्छ”, उनले भने । रासस/file photo