मकवानपुरमा यस्तो छ चुनावी चहलपहल


बागमती, २२ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं ग्रामीण भेगमा क्रमशः चुनावी चहलपहल बढ्न थालेको छ ।

मतदाताका घरघरमा जिल्लादेखि केन्द्रसम्मका विभिन्न राजनीतिक दलका नेता तथा उम्मेदवारहरूको बाक्लो आगमनले हेटौँडासहित बागमती, बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, कैलाश गाउँपालिकाका वडाहरुमा चहलपहल बढेको हो ।

मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा चुनावी रणनीति बनाउन पार्टीका आन्तरिक बैठक र भेला पनि जारी छन् । नेपाली कांग्रेस मकवानपुर सचिव भीमसेन महतका अनुसार जिल्लाका सबै वडामा पार्टी प्रतिनिधि परिचालन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दल स्थानीय तहमा निर्वाचन परिचालन एवं प्रचारप्रसार कमिटी गठन गरेर चुनावमा होमिएका छन् ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय (डिना), नेकपा एमालेका रामेश्वर राणा, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रकाश गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दीपकबहादुर सिंह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती र श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठसहित २३ जना उम्मेदवार रहेका छन्।

यसैगरी, क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेशकुमार बर्तौला, नेपाली कांग्रेसबाट बुद्ध लामा, नेपाली कम्युनिष्ट पार्टीबाट लवशेर विष्ट, रास्वपाबाट प्रशान्त उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबहादुर थोकर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट र श्रम संस्कृति पार्टीबाट युनिश लामासहित २१ प्रत्याशी रहेका छन् ।