ऋषि धमलाको घोषणा : रौतहट–४ का जनताले मलाई साथ दिनुहुन्छ, म ढुक्क छु (भिडिओ–सहित)


काठमाडौं, २२ माघ । रौतहट–४ बाट उम्मेदवार बनेका ऋषि धमलाले मधेशभरि नै निर्वाचनलाई लिएर उत्साही रहेको र मतदानको पखाईमा रहेको बताएका छन् । रौतहट क्षेत्र नम्बर ४ का जनता धेरै पीडामा रहेको र आधारभूत सेवा सुविधा नपाएको उनको भनाई छ ।

सो क्षेत्रमा शिक्षा र स्वास्थ्यको ठूलो समस्या रहेको भन्दै चुनावी घरदैलोको क्रममा नै आफूले केही गम्भीर प्रकृतिका विरामीलाई थप उपचारको लागि केहीलाई काठमाडौं र केहीलाई त्यहीँका अस्पताल पुर्याएको पनि धमलाले जानकारी दिए । आज (बिहीबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले रौतहट क्षेत्र नम्बर ४ शिक्षा र स्वास्थ्यमा पछि परेको बताए ।

सुकुम्वासीको समस्या समाधान गर्नको लागि कुनैपनि दल गम्भीर नभएको उनको गुनासो छ । आफूलाई धादिङसहित काठमाडौं–१, काठमाडौं–५ बाट पनि चुनाव लड्न भनेर प्रस्ताव आएकोमा आफूले रौतहट–४ रोज्नुको कारण यहाँको अवस्था माथि उठाउनको लागि चुनावी मैदानमा उत्रिएको उनको भनाई छ । उनले भने,‘मैले रौतहट–४ को विकासमा कायापलट गर्नुछ, सुधारको योजना ल्याउनुछ । जनतालाई खुशी राख्नुछ, किसानको पीडा पनि डरलाग्दो छ । मलखाद पाईँदैन । विउविजन पनि पाउँदैनन् । अहिले म घरदैलोमा जाँदा किसानदेखि मजदुरसम्म खुशी हुनुहुन्छ ।’

उनले रौतहट–४ मा विकास र परिवर्तन गर्न चाहनेहरुले आफूलाई साथ दिने पनि दाबी गरे । उनले भने,‘यहाँका जनताले मलाई साथ दिन्छन् । ऋषि धमलाको एजेण्डासँग निकट छन् । जनतालाई साथ दिँदै विकास गर्न सक्छ भन्ने उहाँहरुलाई लागेको छ । अब रौतहटलाई कायापलट गर्छु । पहिलो कुरा शिक्षामा मेरो जोड हुन्छ । स्वास्थ्यमा पनि उत्तिकै विकास गर्ने मेरो एजेण्डा छ ।’