ऋषि धमलाले चुनावी घरदैलोमा जाँदा भेटिएका सिकिस्त विरामीको वीर अस्पतालमा उपचार गराए, परिवारको यस्तो छ प्रतिक्रिया (भिडिओ–सहित)


काठमाडौं, २२ माघ । रौतहट–४ का उम्मेदवार ऋषि धमलाले चुनावी प्रचारप्रसारको क्रममा वृन्दावन नगरपालिका-४ मा भेटिएका सिकिस्त विरामी महादेव महराको उद्धार गरी वीर अस्पतालमा उपचार गराएका छन् । चुनावी घरदैलोको क्रममा वृन्दावन नगरपालिकामा पुग्दा एक गाउँमा सिकिस्त विरामी र परिवारको रोदन सुनेपछि धमलाले तुरुन्तै आफ्नो निजी पहलमा वीर अस्पतालमा उपचारको व्यवस्था मिलाएका छन् । अहिले ती विरामीको उपचारको लागि उनकी पत्नी केतारी देवी महरा र र छोरा बालकुकमार महरा पनि वीर अस्पतालमा छन् ।

उनीहरुले आफूहरु मजदुरी गरेर पेट पाल्ने परिवारको मान्छे भएको कारण उपचार गराउन नसकी घरमै बसेको अवस्थामा धमला भेटिएको र तुरुन्तै उपचारको लागि पहल गरिदिएको भनेर खुशी व्यक्त गरेका छन् । प्राइम टिभीसँगको छोटो कुराकानीमा छोराले बुवाको अवस्था विजोग रहेको देखेपछि धमलाले आफूहरुलाई पहल गरेर काठमाडौंको वीर अस्पतालमा ल्याएको र अहिले बुवाको उपचार सुरु भैसकेको प्रतिक्रिया दिए ।

उनकाअनुसार विगत ७ महिनादेखि बुवाको स्वास्थ्योपचारमा लागिपरेको र पाँच लाखजति खर्च भैसकेको थियो । पैसा नभएपछि बाध्य भएर बुवालाई घरकै आँगनमा राखिएको उनले सुनाए । उनले आफ्नो बुवाको उपचारको लागि पहल गरिदिएको र सबै बन्दोवस्ती गरिदिएको भन्दै धमलालाई भगवान नै मानेको पनि बताए ।