मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगार


गण्डकी, २२ माघ ।  सहर नै रोजगारी र सम्वृद्धीको एकमात्र गन्तव्य हो भन्ने आम बुझाइलाई कास्कीका एक मौरीपालक किसानले गलत सावित गरिदिएका छन् ।

कास्कीको मादी गाउँपालिका-११ तोगीका पृतिराज लामिछानेले मौरीपालन व्यावसायमार्फत प्रति वर्ष रु ६० लाख भन्दा बढी आम्दानी गरी अनुकरणीय काम गरी गाउँमा सम्भावना रहेको पुष्टी गरेका हुन् ।

समुद्री सतहदेखि एक हजार ५०० मिटरको उचाइमा अवस्थित विकट तोगी गाउँमा रहेर आकर्षक कमाइसहित उदाहरणीय किसान बन्दै सकारात्मक सन्देश दिन किसान लामिछाने सफल भएका हुन् । तोगी गाउँ पुग्न आज पनि सहज छैन, भौगोलिक विकटता सीमित पूर्वाधार र बजारको पहुँचको अभावको बाबजुद पनि लामिछानेले गाउँमै सम्भावना देखेका छन् । परम्परागत कृषिमा सीमित नरही गाउँमै मौरीपालनलाई व्यावसायिकरुप दिन थालेपछि उनको जीवनशैली मात्र फेरिनुका साथ गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास पनि बलियो बनेको छ ।

उनका अनुसार २०४८ सालमा ‘तालबेँसी-किसानदेखि किसान’ सम्म संस्थामा दश वर्षको अनुभवबाट गाउँमै रहेर मौरीघार निर्माण र मह उत्पादनको मुख्य प्रेरणाको स्रोत बनेको हो । घर वरिपरिको बारीमा अहिले पनि १०० भन्दा बढी आधुनिक घारमा मौरी घुमिरहेका देखिन्छन् ।

गाउँमा कमाएको रकमले पोखरा १७ सीतापाइलामा घरजग्गाको व्यवस्था गर्नुका साथै ४ छोराछोरीलाई बजारमा राखेर पढाउन सफल भएको उनकी श्रीमती लक्ष्मी लामिछानेले बताइन् । “चार फ्रेम मौरीसहितको आधुनिक घारलाई रु १५ हजार, खाली घारलाई रु ५ हजार ५०० र प्रति केजी मह रु १ हजार ५०० मा बिक्री गर्दै आएको छु” किसान लामिछानेले भने, “उत्पादित मौरीका घार र मह बिक्री हुँदैन कि भन्नुपर्दैन, बजारको माग धान्नसमेत हम्यहम्ये परेको छ ।”

अघिल्लो वर्ष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लाई मात्र करिब ३८ लाख मूल्य बराबरको मौरीसहितको घार र मह बिक्री गरेको बताउँदै उनले थपे स्थानीय वनस्पति, जैविक वातावरण र स्वच्छ हावापानीका कारण यस क्षेत्रमा उत्पादित मह गुणस्तरीय अर्गानिक भएको हुँदा बजारमा सहजै बिक्री हुने गरेको छ । उनको घारमा ‘सेरेना’ जातका मौरी रहेका छन् ।

मौरीपालनले उनलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुका साथै गाउँमै रोजगारी सिर्जना गर्न सहयोग पुगेको छ । यसले वैदेशिक रोजगारीका लागि पलायन हुने युवालाई गाउँमै रोक्न सकिने प्रचुर सम्भावनाको सङ्केत गरेको छ । मौरीपालन तथा घार उद्योगमा एकजना स्थानीय र अर्को एक जना विदेशी नागरिकलाई दैनिक रोजगारी दिन उनी सफल भएको छ ।

ञमौरी फर्ममा उत्पादन भएको मह पोखराको बजार र घार भने कास्की, गोरखा, स्याङजा र म्याग्दी जिल्लामा बढी माग रहेको छ । मौरीले बढी मन पराउने ‘टुनी’ को काठबाट घार निर्माण गर्दै आएको र काठ भने बागलुङ र पर्वत जिल्लाबाट खरिद गरेर ल्याउने गरेको लामिछाने बताउँछन् । सो गाउँभन्दामाथि कुनै पनि बस्ती नरहेको उक्त उद्योगमा भारतका सेख अवतार विगत १० वर्षदेखि काम गर्दै आएका छन् । उनलाई खान बस्न सुविधासहित मासिक रु ४५ हजार पारिश्रमिक दिने गरेको लामिछाने बताउँछन् । स्थानीय एकजनाले भने मासिक रु ३५ हजार तलब पाउने गरेका छन् ।

किसान लामिछानेको सफलताले तोगी मात्र होइन सम्पूर्ण पहाडी गाउँको लागि सम्भावनाको ढोका खोलेको छ । भौगोलिक अवस्था, सही योजना, निरन्तरता मेहनत र स्थानीय स्रोतको सदुपयोग गर्न सके गाउँमै बसेर पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने भनाइ पुष्ट गर्न उनी सफल भएका छन् । लामिछाने मात्र नभइ सो गाउँका अर्का विनोद ढकालले पनि मह र घार बिक्रीबाट मनग्ये आम्दानी गर्दै आएका छन् । पाँच घार मौरी भएका उनले घार र मह बिक्रीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । उनको परम्परागत खरले छाएको घुमाउने घर छ, जहाँ मौरीका घारले ढाकेको छ ।

उक्त क्षेत्रका घरमा मात्र होइन जङ्गलका धोत्रारुखमा समेत मौरी घार रहेका हुन्छन् । गाउँलेहरुले त्यस्ता जङ्गलका मौरीलाई आधुनिक घारमा राखेर विस्तार गर्दै आएका छन् । वार्षिक १ लाख पचास हजार मुल्य बराबरका १० देखि १५ घार जङ्गलबाट छोपेर ल्याउने गरेको मौरी किसान विनोद बताउँछन् । तोगी गाउँका प्रत्येक घरमा धेरै–थोरै मौरीका घार रहेका छन् । मह र पोलासहितको घार बिक्रीबाट २ करोडभन्दा बढी रकम बजारबाट गाउँ भित्रिने गरेको वडाअध्यक्ष चलचित्र गुरुङले जानकारी दिए ।

मादी गाउँपालिकालाई महको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ पालिकाले प्रत्येक वर्ष तोगीका किसानसँग खरिद गरेर अन्य वडाका किसानालाई वितरण गर्ने अभियान समेत सञ्चालन गर्दै आएको छ ।

कास्कीका मौरिपालक किसान मुलुकका घर–गाउँका बस्ती खाली हुनेक्रम बढिरहेको विद्यमान समयमा स्थानीय भूगोल तथा मौसम सुहाउँदो कृषि व्यवसाय सञ्चालन गरी गाउँमै आयआर्जन गर्न सकिने सम्भावना रहको भन्ने सन्देश दिन सफल भएका छन् । -हरि बाँस्तोला/रासस