नवलपुर (नवलपरासी), २३ माघ । यही माघ २१ गते बुधबार बिहान घरको आँगनमा खेलिरहेका तीन वर्षका एक जना बालकलाई गैँडाले आक्रमण गर्यो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थानका शिवान्स रेग्मीलाई गैँडाले सिङ (खाग)ले उचालेर फालिदिँदा उनको टाउकामा चोट लागेको थियो ।
माघ २० गते मङ्गलबार दिउँसो १२ः०० बजेको समयमा ब्रम्हस्थानको छिमेकी गाउँ कावासोती नगरपालिका–१७ अमलटारीमा घाँस काट्दै गरेका युवालाई गैँडाले आक्रमण गर् यो । घर नजिकै बारीमा घाँस काट्न गएका ४० वर्षीय हेमबहादुर कुमाललाई गैँडाले आक्रमण गर्दा उनको शरीरमा भित्री चोट लागेको चिकित्सकले बताएका छन् ।
गैँडाको आक्रमणबाट घाइते भएका दुवै जनाको कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गाउँ नजिकै रहेका चितवन राष्ट्रिय निकुञ्ज तथा अमलटारी मध्यवर्ती सामुदायिक वनबाट गाउँमा पस्ने जङ्गली जनावरका कारण मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जानुका साथै नागरिकमा त्रास पैदा भएको छ । पछिल्लो समय यहाँ दैनिकजसो गैँडाले स्थानीयमाथि आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रासमा बस्न बाध्य भएका छन् ।
“दिउँसो पनि घर बाहिर बस्ने अवस्था छैन”, स्थानीय रामबहादुर बोटेले गुनासो गर्दै भने, “कतिबेला कताबाट गैँडा वा अन्य जनावर आएर आक्रमण गर्छन् भन्ने त्रासमा बस्न बाध्य भएका छौँ ।” गाउँमा केही दिनदेखि तीन वटा गैँडा पसेका जनाउँदै आफूहरूलाई दैनिक काममा निस्कनसमेत डर भएको उनले बताए।
“रातिको समयमा हामी घरबाट बाहिर निस्कने अवस्था पहिला पनि हुँदैनथ्यो”, बोटेले भने, “झन् अहिले दिनमा पनि कतै पछाडिबाट गैँडा आएर हान्छ कि भन्दै डराएर घर बाहिर काममा निस्कन सकिरहेका छैनौँ ।” गाउँ पसेका गैँडामध्ये एउटाको साथमा बच्चासमेत रहेको भन्दै उनले बच्चासँगको गैँडा बढी आक्रामक हुने जानकारी दिए ।
नदीमा माछा मारेर बिक्रीबाट आउने रकमले जीविकोपार्जन गर्दै आएको उल्लेख गर्दै उनले यस क्षेत्रका बासिन्दा सधैँ जङ्गली जनावरको त्रासमा बाँच्नु परेको गुनासो गरे ।
स्थानीय राधिका रेग्मीले दिनहुँ घर अगाडिबाट गैँडा हिँड्दा बाहिर निस्कने सक्ने अवस्था नरहेको बताए । “घरमा सानासाना केटाकेटी छन्, घर बाहिर खेलेका बेला कतैबाट गैँडा निस्केर हान्ने पो हो कि भन्ने पीर मनमा सधैँ रहन्छ”, उनले भने, “मेरी सासुआमालाई गैँडाले दुई वर्ष अगाडि र त्यसभन्दा अघिल्लो वर्ष पनि गरी दुईपटकसम्म हानेर घाइते बनाएको थियो । उपचारपछि उहाँ ठीक हुनुभयो तर गैँडाको डर पहिलेको जस्तै छ ।”
आमा नारायणी नदीमा स्नान गर्न जाने बेला बाटोमा एकपटक र अर्को पटक घर पछाडि बारीमा घाँस काट्न गएको बेला गैँडाले आक्रमण गरेको रेग्मीले स्मरण गरे ।
ब्रम्हस्थानमा मात्रै विभिन्न समयमा गैँडाको आक्रमणमा परी घाइते भएकाको सङ्ख्या १० भन्दा बढी रहेको स्थानीय फणिन्द्रादेवी पौडेलले जानकारी दिए । “घर नजिकैबाट नारायणी गङ्गा बगेकी छिन् । बिहान गङ्गामा स्नान गर्न जाँदा पनि गैँडाले हान्ने डरले हिजोआज जानै छोडेका छौँ”, उनले भने, “छोराहरू विदेश छन्, घर बाहिर निस्किएको बेला गैँडाले हान्यो भने पनि गुहार (उद्धार) नपाई मरिन्छ की भन्ने डरमा बस्नु परेको छ ।”
यस क्षेत्रका बासिन्दा सधैँभरी निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुको त्रासमा बस्नुपरेको पौडेलले गुनासो गरे । “जङ्गलबाट निस्कने जनावरले कहिले अन्नबाली खाइदिन्छ, कहिले गाउँमा खेल्दै गरेका केटाकेटी, काम गर्दै गरेका तथा गङ्गामा स्नान गर्न गएका नागरिकलाई हानेर घाइते बनाउने गरेका छन्”, उनले भने, “जङ्गली जनावरले घाइते बनाएको मानिसलाई निकुञ्जले उपचार खर्चको व्यवस्था गरे पनि अन्नबालीमा क्षति पु¥याउँदा पीडित किसानले राहत पाउन सकेका छैनन् ।”
जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेका मध्यविन्दु, कावासोती, देवचुली र गैँडाकोट नगरपालिकाका अधिकांश क्षेत्रमा वन्यजन्तुको त्रास सधैँ रहने गरेको छ । यस क्षेत्रमा गैँडासहित बँदेल, हरिणलगायत जङ्गली जनावरका कारण मानव–वन्यजन्तु द्वन्द्वसमेत बढ्दै गएको छ ।
मध्यविन्दु–३ ब्रम्हस्थानका हुमनाथ उपाध्यायले निर्वाचनको समयमा भोट माग्न आउने उम्मेदवारले मानव–वन्यजन्तु व्यवस्थापनमा योजना बनाई प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । “नेता भोट माग्न आउँछन्, चुनावको बेलामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि काम गर्छौं भन्छन्”, उनले भने, “अब जनतालाई आश्वासन बाँडेर मात्र हुँदैन, प्रभावकारी योजना र काम गर्ने प्रतिबद्धता आवश्यक छ ।”
यसअघि पनि ‘जङ्गली जनावरको आक्रमणबाट जनतालाई जोगाउँछौँ’ भन्ने विषय चुनावी एजेण्ड मात्रै हुने गरेको उपाध्यायले गुनासो गरे । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी र दीर्घकालीन रूपमा नतिजामुखी काम गर्ने उम्मेदवार छनोट गरी मतदान गर्न उनले सबैलाई आग्रह गरे । रासस




प्रतिक्रिया