सबैभन्दा पूरानो रास्वपा हो, गणतन्त्र ल्याउने नेकपा नयाँ हो : प्रचण्ड


काठमाडौं, २३ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा नै नयाँ दल भएको दाबी गरेका छन् । गणतन्त्र ल्याउने शक्ति भएकोले नेकपा नै नयाँ दल भएको जिकिर गरे । उनले यो निर्वाचनमा पनि नेकपा पहिलो दल बन्ने दाबी गरे ।

रास्वपाले नयाँ भनेर प्रचार गरेकोमा पनि दाहालले असन्तुष्टि पोखे । उनले रास्वपा विचारको हिसाबले सबभन्दा पूरानो भएको आरोप लगाए । आज काठमाडौंको तिनकुनेमा रहेको ताज बैंक्वेटमा आयोजित सल्यानको चुनावी परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नयाँ र पुरानोको कुरा गरेका छन् के हो नयाँ ? नयाँ र पुरानोको निधो विचार र एजेन्डाले गर्छ, गणतन्त्र भन्दा नयाँ विचार देशमा कसैले ल्याएको छ देशमा ? नयाँ भनेको गणतन्त्र हो, त्यसैले सबैभन्दा नयाँ नेकपा छ। सबैलाई पहिचान र अधिकार दिने भन्दा नयाँ नारा के छ ? नयाँ भनिनेहरूको सङ्घीय लोकतान्त्रिक गणतन्त्रभन्दा नयाँ मुद्दा छ ?’