अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु


किएभ, २३ माघ ।  युक्रेन युद्ध अन्त्यको प्रयाससँगै अमेरिका र रुसले चार वर्षभन्दा बढी समयपछि उच्च–स्तरीय सैन्य संवाद पुनः स्थापना गर्न सहमति जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः कार्यभारमा फर्किएपछि दुई देशबीच देखिएको सम्बन्ध सुधारको यो अर्को सङ्केत मानिएको छ ।

फेब्रुअरी २०२२ मा युक्रेनमा रुसी पूर्णस्तरको आक्रमण हुनुअघि बढ्दो तनावका कारण सन् २०२१ को अन्त्यतिर मस्को र वासिङ्टनबीच उच्च–स्तरीय सैन्य सञ्चार रोकिएको थियो । ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियान चलाउँदा युद्ध तत्काल अन्त्य गर्ने वाचा गरेको थियो । उनका केही शान्ति प्रस्तावहरूले क्रेमलिनलाई अनुकूल देखिएको भन्दै आलोचना पनि भएको छ, जसमा युक्रेनले रुसलाई केही भूभाग सुम्पिनुपर्ने धारणा समावेश छन् ।

पुनःस्थापित सैन्य सञ्चार च्यानलले दुवै पक्ष स्थायी शान्तितर्फ काम गरिरहेका बेला नियमित सैन्य–सैन्य सम्पर्क सुनिश्चित गर्ने अमेरिकी युरोपेली कमान्डले जनाएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा वरिष्ठ अमेरिकी र रुसी सैन्य अधिकारीहरूबीच भएको बैठकपछि यो सहमति बनेको हो ।

युरोपमा अमेरिकी र नाटो दुवै सेनाका कमान्डर रहनुभएका अमेरिकी जनरल एलेक्सस ग्रिन्केविच अबु धाबीमा रहेको थियो । त्यहाँ अमेरिकी, रुसी र युक्रेनी अधिकारीहरूबीच युद्ध अन्त्यसम्बन्धी वार्ता दोस्रो दिनमा प्रवेश गरेको थियो ।

यसैबीच, रुसले युक्रेनको पावर ग्रिडमाथि आक्रमण तीव्र बनाएको छ । युक्रेनका अनुसार यसले नागरिक मनोबल कमजोर पार्ने उद्देश्य बोकेको छ । करिब एक हजार किलोमिटर लामो पूर्वी र दक्षिणी मोर्चामा लडाइँ जारी नै छ ।

सैन्य हटलाइन पुनः सुरु हुनु युद्धपछि बढेको तनाव कम गर्ने र अमेरिकी तथा रुसी सेनाबीच आकस्मिक टकराव रोक्ने प्रयासका रूपमा हेरिएको छ । मार्च २०२३ मा कृष्ण सागरमाथि अमेरिकी एमक्यू–९ ड्रोन र रुसी लडाकू विमानबीच भएको घटनाले यस्तो जोखिम उजागर गरेको थियो । रुसले उक्त ड्रोन खसालिएको आरोप अस्वीकार गर्दै नो–फ्लाई जोन उल्लङ्घनको प्रतिक्रिया मात्र भएको दाबी गरेको थियो ।

नाटो सदस्य राष्ट्रहरूले सहयोगी हवाई क्षेत्रमा रुसी गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । गत सेप्टेम्बरमा रुसी ड्रोनहरू पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेपछि नाटो विमानहरू परिचालन गरिएको थियो । त्यसपछि एस्टोनियाको हवाई क्षेत्रबाट पनि रुसी लडाकू विमानहरू हटाइएको थियो ।

युक्रेन र रुसबीचको वार्तापछि कैदी आदानप्रदान पनि भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार १५७ रुसी सैनिक र तीन नागरिक फिर्ता ल्याइएका छन् । युक्रेनी अधिकारीहरूले १५० सैनिक र सात नागरिक रुसी कैदबाट फर्किएको जानकारी दिएका छन् । रिहा गरिएका रुसी सैनिकहरू हाल बेलारुसमा चिकित्सकीय सहयोग लिइरहेका छन् ।

युक्रेनी मानव अधिकार आयुक्त दमित्रो लुबिनेट्सले फर्किएका धेरै सैनिकहरू कठिन मनोवैज्ञानिक अवस्थामा रहेको र केही गम्भीर रूपमा कुपोषित देखिएको बताए ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसको आक्रमणपछि करिब ५५ हजार युक्रेनी सैनिकको मृत्यु भएको बताएको छ । उनका अनुसार अझै धेरै व्यक्ति बेपत्ता मानिएका छन् । युद्धपछिको कुनै पनि सम्भावित रुसी आक्रमण रोक्न अमेरिका र युरोपबाट सुरक्षा ग्यारेन्टी आवश्यक रहेको उनले दोहोर्‍याएको छ ।

मानव अधिकार समूहहरूका अनुसार गत वर्ष युक्रेनी नागरिक हताहत २०२४ को तुलनामा ३१ प्रतिशतले बढेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार युद्ध सुरु भएदेखि करिब १५ हजार नागरिक मारिएका छन् र ४० हजारभन्दा बढी घाइते भएका छन् ।

अन्य घटनाक्रममा, युक्रेनले रुसी सेनाले फ्रन्ट लाइनमा स्टारलिङ्क इन्टरनेट टर्मिनल प्रयोग गर्न नसक्ने अवस्था आएको दाबी गरेको छ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले किएभ भ्रमणका क्रममा गोला–बारुदको संयुक्त उत्पादन र ऊर्जा सहकार्य विस्तारमा सहमति भएको जानकारी दिएको छ ।

युक्रेनी वायु सेनाका अनुसार रुसले रातभर १८३ ड्रोन र दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । रुसले भने आफ्नो हवाई रक्षाले विभिन्न क्षेत्रमा ९५ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । रासस