ओलीको नजरमा बालेन र रञ्जित नाती पुस्ता, राजनीति सिक्न झापा ५ मा उम्मेदवार बनेको टिप्पणी


काठमाडौं, २३ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता रञ्जित तामाङलाई नाती पुस्ताको संज्ञा दिएका छन् । चुनावी अभियानका लागि झापा पुगेका ओलीले बालेन र रञ्जित आफूसँग राजनीति सिक्न आएको बताए । उनले यसलाई नराम्रो मान्नुपर्ने कारण नरहेको बताए ।

नाति पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लागेको उनको टिप्पणी छ । ‘भिड्न आउँछु भन्नेलाई स्वागत गर्छु । खुसी लाग्छ। नयाँ हाम्रा भाइ, भतिजा, छोरा, नातिहरूको पुस्ताले सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र ?’ प्रश्न गर्दै ओलीले भने ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका छन् । उनको प्रतिस्पर्धीको रुपमा बालेन र रञ्जित तामाङलाई पनि हेरिएको छ । बालेन र रञ्जित दुवै युवा पुस्ताको प्रतिनिधि हुन् ।