प्रचण्डसँग बुद्धिजीवीहरुको ब्रिफिङः झापा ५ र सर्लाही ४ मा नाम चाहिँ अरुको आएको छ, चुनाव नेकपाले जित्छ


काठमाडौं, २३ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झापा क्षेत्र नम्बर ५ र सर्लाही क्षेत्र नम्बर ४ मा आफ्नो पार्टीका उम्मेदवारले जित्ने दाबी गरेका छन् । आज (शुक्रबार) पार्टीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले झापा ५, सर्लाही ४ मा पनि पार्टीका उम्मेदवारले जित्ने रिपोर्टिङ आफूलाई भएको बताएका हुन् ।

‘ठूला नेताहरू भिडेको समाचार तपाईँहरूले मिडियामा देख्नुहुन्छ । झापा–५, सर्लाही–४ को चर्चा जताततै देख्नुहुन्छ। आज विहान मात्रै ती ठाउँका स्वतन्त्र बुद्धिजीवी र पार्टीका साथीहरू म कहाँ आउनुभएको थियो। उहाँहरूले मलाई तथ्यांक देखाएर भन्नुभयो। नाम चाहिँ उनीहरूको आएको छ । तर, जित्न नेकपाले जित्छ भनेर तथ्यांक देखाउनुभयो,’– उनले भने ।

झापा ५ र सर्लाही ४ मा जनताले भोट हाल्ने त नेकपामै हो भनिरहेको उनले बताए । सामाजिक सञ्जालमा नेकपाको उम्मेदवारको नाम नआए पनि उनीहरु जनताको मनमा छिरिसकेको र जितेर देखाउन प्रचण्डले बताए ।