कुनै पनि षड्यन्त्रले एमालेको जितलाई रोक्न नसक्ने ओलीको दाबी, ‘देश नै एमालेमय हुनेछ’


काठमाडौं, २४ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने दाबी गरेका छन् । हिजो (शुक्रबार) गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले झापा यसपटक पूर्णरूपमा एमालेमय हुने विश्वास व्यक्त गरेका थिए ।

‘अहिले देश विषम परिस्थितमा पुगेको छ । देशलाई जोगाउन एमालेमय झापा र एमालेमय देश बनाउन आवश्यक छ’, उनको भनाई थियो । झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले झापालाई सूर्यमय बनाउन सबै नेता/कार्यकर्ता तथा समर्थकलाई आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह गरेका थिए ।

युवाहरू एमालेको पक्षमा जनमत निर्माण गर्न सक्रिय रूपमा लागिरहेको बताउँदै युवापुस्ताको ऊर्जा र सहभागिताले पार्टीलाई अझ मजबुत बनाउने धारणा उनले व्यक्त गरे । ओलीले सत्य र विकासको पक्षमा जनता रहेकाले कुनै पनि षड्यन्त्रले एमालेको जितलाई रोक्न नसक्ने बताउँदै आगामी फागुन २१ गते हुने निर्वाचनमा एमालेको जित पक्का भएको दाबी गरे ।