काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्याउनुपर्ने बताएका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज आयोजना गरेको सदस्य भेलालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार कांग्रेस बदलिएकाले उक्त सन्देश घरघरसम्म पुर्याउनुपर्ने बताएका हुन् ।
सभापति थापाले गत भदौ २३ र २४ को आन्दोलनबाट पाठ लिएर कांग्रेस सच्चिएको भन्दै पार्टी अब देश बदल्ने अभियानमा लागेको सन्देश गाउँ र घरघरसम्म पुर्याउनुपर्ने बताए । ‘कांग्रेस बदलिएको सन्देश तलसम्म पुगेको छैन, यो सन्देश घरघरमा पुर्याउनुपर्छ । अघिल्लो निर्वाचनमा कांग्रेसलाई मत हालेका २७ लाख मतदाता माझ जानुपर्छ,’– उनले भने ।
अधिवेशनपछि सबैभन्दा नयाँ पार्टी कांग्रेस भएर आएको उनको भनाइ छ । सभापति थापाले जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसात् गर्नका लागि कांग्रेसले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको उल्लेख गरे ।
उनले विशेष महाधिवेशनमा कसैले जितेको र हारको नभई पार्टीले जितेको बताए । ‘सबै पक्षलाई मात्र नभएर देशलाई नै मिलाएर लैजाने शक्ति कांग्रेस हो । मुलुकमा देखिएको भागबण्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त भएर जानेछ,’– उनले भने ।




प्रतिक्रिया