एमालेबाट गठबन्धनको प्रस्ताव आएको प्रचण्डको दाबी


काठमाडौं, २४ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाको चुनाव अहिले प्रतिनिधिसभामा पनि गठबन्धन गर्ने गरी एमालेबाट प्रस्ताव आएको खुलासा गरेका छन् । आज (शनिबार) सिन्धुलीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले राष्ट्रियसभा चुनावमा कांग्रेस–एमाले मिलेर नेकपालाई आउट गरिसकेपछि गठबन्धनको सम्भावना टरेर गएको बताएका हुन् । प्रचण्डका अनुसार कांग्रेस र एमालेका खास–खास नेताहरुको हकमा उनीहरुलाई जिताउने गरी सिट एडजस्ट गर्ने प्रस्ताव आएको थियो । सो प्रस्तावमा नेकपाले सैद्धान्तिक रुपमा अस्वीकार नगरेकै अवस्थामा टरेको उनले बताए ।

‘कांग्रेसको विशेष महाधिवेशन हुनुभन्दा अगाडि र राष्ट्रिय सभाका सदस्यको निर्वाचन हुनुभन्दा अगाडि कुरा भएको थियो । यो प्रस्ताव हाम्रो थिएन । नेपाली कांग्रेस र नेकपा (एमाले) को के प्रस्ताव थियो भने केही खास नेताहरुको हकमा हामीले उहाँहरुलाई जिताउने ढंगले केही सिट एडजस्ट गर्नुपर्छ भन्ने थियो । हामीले यसमा सैद्धान्तिक रुपले अस्वीकार पनि हामीले गरेका थिएनौं, स्वीकार पनि । तर, त्यसको सुरुवात राष्ट्रिय सभाको सदस्यको निर्वाचनबाट हुन्छ । त्यहाँ इमानदारिता देखियो भने केही सिट एडजस्ट गर्न पनि सकिएला । राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई आउट गर्ने बाटो पक्रिनुभयो उहाँहरुले । त्यसो भएपछि समीकरण भएन,’– उनले भने ।