जाँचुबझ आयोगको प्रतिवेदन चुनावपछिमात्रै सार्वजनिक गर्नुपर्छ : बिडारी (भिडिओ–सहित)


काठमाडौं, २५ माघ । वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुने दाबी गरेका छन् । उनले अब निर्वाचन हुन्छ कि हुँदैन भनेर बहस गर्न नहुने भन्दै तोकिएकै मितिमा निर्वाचन हुने विश्वास दिलाए । आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले सर्वोच्च अदालतले अब निर्वाचन विथोल्नेगरि कुनै निर्णय नगर्ने दाबी गरे ।

उनले भने,‘अब निर्वाचन आउन जम्मा २४, २५ दिन बाँकी छ । यो बीचमा कुनै पेशी राख्ने वा विथोल्ने काम गर्दैन्, सर्वोच्च अदालत पनि नेपालको हो । सर्वोच्च अदालतले संसद् पूनःस्थापना गर्छ भनेर गरेको हल्लाखल्ला पनि बेठिक छ । यो गर्दैन् । बरु, निर्वाचन हुन्छ । योबाहेक अर्को विकल्प छैन ।’ यो निर्वाचनमार्फत पूराना गएर नयाँ आउँदापनि केही उत्पात हुने अवस्था आफूले नदेखेको उनको भनाई छ ।

उनले भने,‘पूरानालाई देखियो र भोगियो, नयाँलाई पनि देखियो, उनीहरुपनि पूरानासँग मिलेर काम गर्न लालाइत भए । यो निर्वाचनमा चाहीँ एउटा पदमा पाँच वर्ष बाँकी रहँदारहँदै त्यसलाई फ्याट्ट छोडेर अर्को ठाउँमा जानु गलत रहेछ, यो त संविधानमा नै गलत गरिएछ ।’

उनले भदौ २३ र भदौ २४ गतेको घट्ना छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन चुनावपछि मात्रै सार्वजनिक गर्न सरकारलाई सुझाव दिएका छन् । उनले अहिलेपनि पूराना र नयाँ दलहरुमा भ्रष्टहरुको तैनाथी रहेको आरोप लगाए । उनले पूराना र नयाँका नाईकेहरु भ्रष्टाचारी रहेको गम्भीर आरोप लगाए । उनले जनतालाई अब नायक भन्दापनि असल रोज्न सुझाव दिए ।