यो निर्वाचनमा नेपाली कांग्रेस सबभन्दा ठूलो दल बन्ने र गगन थापा प्रधानमन्त्री बन्ने मुमाराम खनालको दाबी (भिडिओसहित)


काठमाडौं, २५ माघ । राजनीतिक विश्लेषक मुमाराम खनालले २१ फागुनको निर्वाचनपछि नेपाली कांग्रेस नै सबभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । उनले यो निर्वाचनपछि कांग्रेस पहिलो दल बन्ने र यसका सभापति गगन थापा प्रधानमन्त्री बन्ने दाबी गरे । हिजो (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले आगामी निर्वाचनपछि संसद्मा रास्वपाको पनि उल्लेख्य उपस्थिति हुने बताए । उनले भने,‘अहिलेको राजनीतिक परिदृश्य हेर्दाखेरि लार्जेष्ट पार्टी चाहीँ कांग्रेस नै हुन्छजस्तो लाग्छ । कांग्रेसभित्र अन्तरघात हुँदैन । कांग्रेसले अहिले स्मार्ट परिपत्र जारी गरेको छ ।’ उनले कांग्रेस रुपान्तरण भएकोले यो पटकको निर्वाचनमा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

सबभन्दा सांगठानिक जडता भएको पार्टीमा एकैचोटी गगन थापाको नेतृत्वमा रुपान्तरण हुँदा त्यही दलभित्र त्यो परिवर्तन पचाउन सहज नदेखिनु स्वाभाविक भएको उनको टिप्पणी छ । ०७९ को निर्वाचनमा एजेण्डा अघि सारेका दलहरुले ती एजेण्डामा कसैले पनि काम नगरेको उनको आरोप छ । उनले यो पटकको निर्वाचनमा दलहरुले ल्याउने घोषणापत्र हेरेर विश्लेषण गरिनुपर्ने बताए ।