६ महिनामै बन्यो पालुङटारको चुक्तीखोला मोटरेबल पुल


गोरखा, माघ २६ । गोरखाको पालुङटार नगरपालिका–९ सेरास्थित चुक्तीखोला मोटरेबल पुल निर्माणको काम ६ महिनामा नै सम्पन्न भएको छ । गोरखाको अमृत कन्स्ट्रक्सनले गत असारमा जिम्मा लिएको पुल निर्माणको काम यही पुस मसान्तमा सम्पन्न भएको हो ।

रु तीन करोड ४१ लाख ४२ हजारको लागतमा पुल निर्माणको सम्झौता भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर मोहन श्रेष्ठले बताए । उनकाअनुसार कार्यालयले ठेकेदार कम्पनीसँग १८ महिनाभित्र निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौँता गरेको थियो । “निर्माण कम्पनीले ठेक्का सम्झौँता भएको ६ महिनाभित्रै काम सम्पन्न गरेको छ’, उनले भने ।

पुलको लम्बाइ २० मिटर छ भने चौडाइ ८.४० मिटर रहेको छ । पालुङटारको तल्लो सेरा र माथिल्लो सेरा जोड्ने चुक्तीखोला पुल निर्माण सम्पन्न भएसँगै त्यहाँका स्थानीयले राहतको सास फेरेका छन् । यसअघि पक्की पुल नहुँदा सेराका बासिन्दा काठे पुल हालेर आजतजावत गर्न बाध्य थिए ।

बर्खाको बेलामा विद्यार्थीलाई विद्यालयसम्म पुग्न पनि कठिनाई हुने गरेको पालुङटार नगरपालिका–९ का वडाअध्यक्ष भोजराज पाण्डे बताउँछन् । “जिल्लामा विकास निर्माणका काम जिम्मा लिएर अलपत्र पार्ने प्रवृत्ति कायमै छ । यसरी निर्धारित समय अगावै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई प्रोत्साहन गर्नुपर्छ’, उनले भने । मोटरेबल पुल बनेपछि आवतजावतसँगै कृषि सामग्री ढुवानी गर्न समेत सहज हुने छ । रासस