काठमाडौं, माघ २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले डडेल्धुरा उपक्षेत्रिय अस्पतालको अनुगमन गरेकी छन । आईतबार संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालको मन्त्री गौतमले अनुगमन गरेकी हुन ।
अनुगमनका क्रममा उनले अस्पतालको सेवा, पूर्वाधार र जनशक्ति व्यवस्थापन तथा गुणस्तर लगायतका विषयका जानकारी लिएकी थिईन । मन्त्री गौतमले अस्पतालको स्तरोन्नतिमा सरकार प्रतिबद्ध रहेको बताईन । उनले अस्पतालको स्तरोन्नति र विकासका लागि अझै धेरै बाँकी रहेको बताईन ।
मन्त्री गौतमले डडेल्धुरा अस्पतालमा तीन सय शय्याको मेडिकल कलेज स्थापना गर्न पहल गरिने जानकारी दिइन् । वर्तमान सरकार चुनावी सरकार भएको उल्लेख गर्दै उनले अबको सीमित समयभित्र सकिने काम प्राथमिकताका साथ अघि बढाइने बताइन् । अस्पतालको जनशक्ति समस्यालाई सम्बोधन गर्न संगठन तथा व्यवस्थापन ओएनएम स्वीकृतिको प्रक्रिया मन्त्रालयबाट अघि बढाइने र यो स्वीकृत भएपछि दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन हुने उनले बताइन् । साथै तत्कालका लागि डडेल्धुरा अस्पतालबाट अन्यत्र खटाइएका जनशक्ति फिर्ता ल्याउन सकिने अवस्था भए मन्त्रालयले त्यसमा पनि पहल गर्ने प्रतिबद्धता जनाइन् ।




प्रतिक्रिया