मैले चुनावी घरदैलोमा जाँदा कहीँ कतै पनि असुरक्षित महशुस गरेको छैन : डा. भीम रावल


काठमाडौं, २६ माघ । नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले आफूलाई चुनाव जित्नको लागि धेरै ठूलो रस्साकस्सी गर्नुपर्ने अवस्था नभएको स्पष्ट पारेका छन् । यद्धपी निर्वाचनमा प्रतिष्पर्धा हुनु स्वाभाविक भएको उनको प्रतिक्रिया छ । रावल अछाम–१ क उम्मेदवार हुन् । उनले अहिले आफूहरुलाई जनताको व्यापक समर्थन रहेको पनि दाबी गरे ।

आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले निर्वाचनको प्रक्रिया धेरै नै अघि बढिसकेकोले अब तोकिएकै मितिमा निर्वाचन हुनेमा कुनै आशंका नरहेको स्पष्ट पारे । उनले आफू पनि चुनावी घरदैलोमा रहेको भन्दै कहीँ कतै पनि असुरक्षित महसुस नगरेको दाबी गरे । उनले भने,‘आम रुपमा अब निर्वाचन सम्पन्न हुने कुरामा कुनै द्धिविधा छजस्तो मलाई लाग्दैन ।’

अछामको विकासदेखि जनताको माग पूरा गर्नको लागि आफूप्रति जनताको निकै ठूलो समर्थन रहेको उनको भनाई छ । उनले आगामी दिनमा यो समर्थन अझै बढ्ने उनको दाबी छ । उनले भने,‘म यो चुनावको लागि गाउँबस्तीमा जाँदा कुनैपनि रस्साकस्सी देख्दिनँ, मानिसहरुले संसद्मा जानुको अर्थ, भोलि संसद्मा गएर पनि त्यो कुरा राख्न सक्ने, कानून निर्माणदेखि राज्यका नीतिमा पनि प्रभाव पार्नसक्ने व्यक्तिको खाँचो छ भन्ने कुरा सबै पार्टी पँक्तिमा देखिएको छ, यो निर्वाचनमा कुनै रस्साकस्सी त म देख्दिनँ, तर प्रतिष्पर्धा हुनु स्वाभाविक हो ।’