सेभ द हार्टको १३औं वार्षिक साधारण सभा सम्पन्न, प्रमुख संरक्षक भट्टराईद्वारा आकस्मिक सहयोग कोषमा एक लाख जम्मा


काठमाडौं, २६ माघ । श्री मुटु जोगाउँ (सेभ द हार्ट) संस्थाको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । यही माघ २३ गते शुक्रबारको दिन संस्थाका अध्यक्ष प्रा.डा.अनिल भट्टराईको अध्यक्षतामा भव्यताको साथ सम्पन्न भएको साधारण सभामा कोही पनि गरिव नेपालीले उपचार नपाएर जीवन गुमाउन नपरोस भन्ने उद्देश्यसहित ‘आकस्मिक सहयोग कोष’को स्थापना गरिएको छ । जसमा प्रमुख संरक्षक कृष्ण प्रसाद भट्टराईले एक लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

संस्थाको स्थापना कालदेखि नै प्रमूख संरक्षकको रूपमा माया गर्दै आएका पूर्व सांसद कृष्ण प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त साधारणसभामा संस्थाका सदस्यहरूको ९२.३१% उपस्थिती रहेको थियो । सो कार्यक्रममा संस्थाले विभिन्न क्षेत्रका विज्ञहरुलाई आमन्त्रित गरिएको र विज्ञहरुको उपस्थिति रहेको सो संस्थाले जनाएको छ ।

संस्थाको तर्फबाट संस्थाका सचिव लक्ष्मी श्रेष्ठले पाहुनाहरुलाई न्यानो अभिवादनसहित स्वागत गरेकी थिईन् भने कोषाध्यक्ष बिमला कुमारी शर्माले आर्थिक वर्ष २०८१÷२०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

अध्यक्षले आ.व. २०८१/२०८२ को कार्य प्रगति विवरण पेश गर्दै यस संस्थालाई स्थापनाकालदेखि सहयोग तथा माया गर्ने व्यक्तिहरुलाई सम्झँदै संस्थाले गरेका कार्यहरु बिस्तृत जानकारी गराएका थिए । त्यसैगरी संस्थाका उपाध्यक्ष डा. उर्मिला शाक्यले १३औं वार्षिक साधारणसभामा सम्पूर्णलाई शुभकामना दिदैं यस संस्थाले गरेका कामहरु सबैको अथक मेहनतले सम्भव भएको र भविष्यमा पनि सबैबाट यस्तै माया पाईराख्ने विश्वास व्यक्त गरिन् ।

शुभकामना मन्तव्यकै क्रममा कार्यसमितिका सदस्य डा. बिधान निधि पौडेलले आफु सेवानिवृत्त भएको हुँदा अबका दिनहरुमा यस संस्थाले आयोजना गर्ने स्वास्थ्य शिविरहरुमा उपस्थित हुने प्रतिबद्धता जनाएका थिए । साथै, संस्थाले कार्यक्रमहरु आयोजना गर्दा स्थानीय सरकारसंग सहकार्य गर्दा आर्थिक भार कम हुनसक्ने उनको सुझाव थियो ।

मन्तव्यकै क्रममा सदस्य नत्थुप्रसाद बाँस्कोटाले शुभकामना ब्यक्त गर्दै कार्यसमितिका सम्पूर्ण सदस्यहरुले आ–आफ्नो जिम्मेवारीअनुसार त्यसतर्फ सम्पूर्ण कुराहरुको जानकारी लिने÷दिने गर्दा अझै प्रभावकारी हुने बताए ।

मन्तब्यकै क्रममा सदस्य राम्रपसाद सुबेदीले शुभकामना व्यक्त गर्दै संस्थाले आयोजना गरेका स्वास्थ्य शिविरहरुमा सहभागी जनाउंदै आएको र आगामी दिनहरुमा पनि सहभागी जनाउने प्रतिबद्धता जनाए ।

शुभकामना दिने क्रममा यस संस्थालाई स्थापनाकालदेखिनै सहयोग गर्दै आएका संस्थाका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता मुकुन्द प्रसाद पौडेलले संस्थाले गरेको कार्य देख्दा अत्यन्त गर्व महसुश भएको भन्दै कानुनीरुपमा नेपाल सरकारको विधि÷विधानअनुसार नै संस्था संचालन भईरहेको र संस्थाले गर्ने हरेक मानव कल्याणकारी परियोजनाहरु सरोकार निकायहरुसंग समन्वय गरि संचालन भएको समेत जानकारी गराए ।

शुभकामना मन्तव्य दिदैं कार्यसमितीका सदस्य बद्रि नारायण शाहले यस संस्थाले मुटुरोगीहरुलाई नयाँ जीवनदान दिन गरिने शल्यक्रिया गर्दा चाहिने ब्लड उपलब्ध गराउंदै आईरहेको अवगत गराउँदै भविष्यमा पनि ब्लडको लागी ढुक्क रहन आग्रह गरे । त्यसैगरी शुभकामना दिने क्रममा धेरै महानुभावहरुले संस्थाले यति धेरै काम गर्न सफल भएकोमा संस्थामा कार्यरत सम्पूर्ण सदस्यलाई हार्दिक बधाई दिनु भएको थियो ।

कार्यक्रम संस्थाका महासचिव शेरबहादुर रानाले संचालन गरेका थिए । सो क्रममा उनले स्याङ्गजा जिल्ला पुतलीबजारमा आयोजना गरिएको निःशुल्क मुटुरोग परीक्षण स्वास्थ्य शिविरमा जन्मजात मुटुरोगबाट ग्रसित अर्जुन चौतारी बसोबास गर्ने एकै घरको एकै आमाका २ सन्तान (एक छोरी एक छोरा) को काठमाण्डौ बोलाई दुवै बालबालिकाको एकै दिन शल्यक्रिया गराई जीवनदान दिइएको जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष डा.अनिल भट्टराई हालसालै प्राध्यापक पदमा पदोन्नति भएकोमा संस्थाको तर्फबाट र त्यहाँ उपस्थित सम्पूर्णले हार्दिक बधाई समेत ज्ञापन गरेका थिए ।