पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित


लिस्बन, २६ माघ । पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो विजयी भएका छन् । उनले कट्टर दक्षिणपन्थी उम्मेद्वार आन्द्रे भेन्टुरालाई पराजित गर्दै स्पष्ट बहुमतसहित जित हासिल गरे ।

आधिकारिक परिणामअनुसार ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा सेगुरोले ६६.७ प्रतिशत मत प्राप्त गरी लिस्बनस्थित नदी किनारको राष्ट्रपतीय निवास ‘गुलाबी दरबार’ मा पाँच वर्षे कार्यकालका लागि निर्वाचित भए । भेन्टुराले ३३.३ प्रतिशत मत प्राप्त गरे ।

यो निर्वाचनलाई भेन्टुराको उग्र र उत्तेजक राजनीतिक अभियानप्रतिको जनसमर्थन कति गहिरो छ भन्ने परीक्षणका रूपमा हेरिएको थियो । उनको चेगा पार्टीले सो शैलीकै कारण पोर्चुगलको संसद्मा दोस्रो ठूलो दलको हैसियत बनाएको छ । यस मतपत्रले हालैका वर्षहरूमा युरोपभर देखिएको परिवर्तन र लोकप्रियतावादी राजनीतिप्रतिको जनआकांक्षाको मापनसमेत गरेको विश्लेषकहरूले बताएका छन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सामाजिक सञ्जालमार्फत सेगुरोलाई बधाई दिँदै पोर्चुगलको आवाज साझा युरोपेली मूल्यमान्यताका पक्षमा अझ बलियो रहेको उल्लेख गरे ।

दीर्घकालीन समाजवादी राजनीतिज्ञ सेगुरोले आफूलाई मध्यमार्गी उम्मेद्वारका रूपमा प्रस्तुत गरे । उनले केन्द्र–दक्षिणपन्थी अल्पसङ्ख्यक सरकारसँग सहकार्य गर्दै भेन्टुराको स्थापना विरोधी र आप्रवासीविरोधी उग्र भाष्यलाई अस्वीकार गर्ने सङ्केत दिए । बढ्दो लोकप्रियतावादी लहरलाई रोक्न चाहने बायाँ र दायाँ दुवै धारका मुख्यधाराका राजनीतिज्ञहरूको समर्थन पनि उनले प्राप्त गरे ।

पोर्चुगलमा राष्ट्रपति पद प्रायः औपचारिक र प्रतीकात्मक मानिन्छ । परम्परागत रूपमा राष्ट्रपतिले राजनीतिक विवादमा मध्यस्थता गर्दै तनाव कम गर्ने र दलगत द्वन्द्वभन्दा माथि उभिने भूमिका निर्वाह गर्दछन् ।

यद्यपि राष्ट्रपतिसँग संसद्बाट पारित कानूनहरूमा भिटो लगाउने अधिकारजस्ता प्रभावशाली औजार छन्, यद्यपि त्यस्ता भिटोहरू संसद्ले उल्ट्याउन सक्छ । यसबाहेक संसद् विघटन गरी समयअगावै चुनाव घोषणा गर्ने अधिकार पनि राष्ट्रपतिसँग रहने गर्दछ, जसलाई पोर्चुगलको राजनीतिक भाषामा ‘परमाणु बम’ भनेर चिनिन्छ ।

मे महिनामा पोर्चुगलले तीन वर्षभित्र तेस्रो आम चुनाव सम्पन्न गरेको थियो, जुन पछिल्ला दशकहरूकै सबैभन्दा गम्भीर राजनीतिक अस्थिरताको अवस्था मानिएको छ । यस्तो पृष्ठभूमिमा राजनीतिक स्थिरता कायम गर्नु नयाँ राष्ट्रपतिका लागि प्रमुख चुनौती रहने देखिएको छ ।

वाक्पटु र नाटकीय शैलीका राजनीतिज्ञका रूपमा चिनिने भेन्टुरा राजनीतिक समझदारीभन्दा बढी टकरावपूर्ण दृष्टिकोणको पक्षमा उभिए । उनले पोर्चुगलमा व्यापक ‘परिवर्तन’ ल्याउने लक्ष्यका साथ अभियान चलाए ।

“मैले फरक बाटो सम्भव छ भनेर देखाउने प्रयास गरेँ, हामीलाई फरक प्रकारको राष्ट्रपति चाहिएको थियो”, भेन्टुराले पत्रकारहरूलाई भने ।

रनअफ चरणसम्म पुग्नु नै भेन्टुरा र उनको पार्टीका लागि एउटा महत्त्वपूर्ण कोसेढुङ्गा मानिएको छ । उहाँको प्रमुख एजेन्डामध्ये एक अत्यधिक आप्रवासन रोक्नु रहेको छ, किनकि हालैका वर्षहरूमा पोर्चुगलमा विदेशी कामदारहरूको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ ।

“पोर्चुगल हाम्रो हो”, भेन्टुराले अभियानका क्रममा दोहो¥याए ।

अभियान अवधिमा उनले देशभर ‘यो बङ्गलादेश होइन’ र ‘आप्रवासीहरूलाई कल्याणमा निर्भर बन्न दिनु हुँदैन’ भन्ने सन्देश भएका बिलबोर्डहरू प्रयोग गरे ।

सात वर्षभन्दा कम समयअघि स्थापना गरिएको चेगा पार्टीले उल्लेखनीय जनसमर्थन बटुल्दै मे १८ मा सम्पन्न आम चुनावमा संसद्को दोस्रो ठूलो दल बन्न सफल भएको थियो ।

सेगुरोले आगामी महिना वर्तमान केन्द्र–दक्षिणपन्थी राष्ट्रपति मार्सेलो रेबेलो डे सौसालाई प्रतिस्थापन गर्नेछन् । डे सौसाले संविधानले तोकेको दुई कार्यकाल पूरा गरिसकेका छन् । रासस